अमेरिकी एनआरएनएमा कांग्रेसी रमिता

डिसी नेपाल
१९ असार २०७९ ८:३७

यतिबेला अमेरिकाका दुई ठूला शहरहरु नर्थ क्यारोलिना र टेक्सासमा अमेरिकाभरका नेपालीहरुमध्ये एनआरएनएमा लागेकाहरुको ठूलो जमघट चलेको छ।

यी जमघटहरुको नेतृत्व नेपालमा नेपाली कांग्रेसको राजनीति गरेर आएका व्यक्तिहरुले नै गरिरहेका छन्। फरक के छ भने उनीहरु यहाँ एउटै संस्थाभित्र बस्न अटाउन सकेका छैनन् र एउटै संस्थालाई चिरा पारेर अमेरिकामा कांग्रेसी कार्यकर्ताहरुको रमिता देखाइरहेका छन्।

एनआरएनको इतिहासमा गएको अधिवेशनमा पहिलोपटक देखिएको नेतृत्व चयनको विवादले आम एनआरएनए समुदायमा निराशाको विउ रोपिदियो। उक्त विबादकाबीच बनेको तीन अध्यक्ष चयन अभ्यासले संस्थाको प्रतिष्ठामा गम्भीर आँच पुर्‍यायो।

नेतृत्वको विवादलाई समस्या देखाउँदै खोजिएको नयाँ समाधानको पहिलो असर पूर्व केन्द्रीय अध्यक्ष शेष घले निकट छुट्टै कमिटी गठन भएर प्रकट भयो। केन्द्रीयस्तरमै गठित नयाँ कमिटी केका लागि वन्यो र के गर्दैछ? यसबारे अर्को आलेखमा कुरा गरौंला । यसपटक तीन अध्यक्ष कमिटी गठन नजिरले निम्त्याएको परिस्थितिको कुरा त्यो पनि अमेरिकामा केन्द्रित भएर गर्न खोजेको हुँ।

केन्द्रीय नेतृत्वमा भएको विवाद र विवाद समाधानका लागि गरिएको भनिएको तीन अध्यक्षको अभ्यासअघि अमेरिकामा एउटा समन्वय परिषद अस्तित्वमा थियो । तथापि उक्त परिषदको चयनकै वेला निर्वाचनको परिणाममा असन्तुष्ट पक्ष विकल्पको योजनामा प्रयासरत नरहेको होइन।

उसका लागि केन्द्रीय कमिटीको नेतृत्वको विवाद र नयां समाधान ठूलै हतियार बन्यो। फलस्वरूप निर्वाचनमा उपविजेता वनेका कृष्ण लामिछानेको नेतृत्वमा अर्को समानान्तर समन्वय परिषद गठन भयो। केन्द्रीय कमिटीले गरेको जस्तो अभ्यास गरेर दुईपक्षबीच केहीदिनका लागि समझदारीको नाटक मन्चन त गरियो तर टिकेन। जुन केन्द्रीय स्तरमा देखिएको नेतृत्व विवादको असरको स्वाभाविक परिणाम थियो।

अहिले दुवै कमिटी एउटै मिति पर्ने गरी बुद्धि सुवेदी पक्षको जुलाई ३ र ४ गते र कृष्ण लामिछाने पक्षको पनि ३ र ४ मा नै अमेरिकाका ठूला शहरहरू नर्थ क्यारोलाइना र टेक्सासमा आआफ्ना साधारण सभाको आयोजनामा गरेका छन्।

आआफ्ना पक्षका संस्थाकै केन्द्रीय नेता र राजनीतिक दलका नेताहरूलाई उपस्थित गराउने चाकडी गरिसकिएको देखिन्छ । केन्द्रीय कमिटीका एक अध्यक्ष कुल आचार्य नर्थ क्यारोलिनाको कार्यक्रमका लागि अमेरिकामा छन्।

र यो पक्षका सहयोगी महासचिव डा.केशव पौडेल यतै अमेरिकाकै हुन् भने पछि वनेको नयां कमिटीको तयारी पहिलेको कमिटीको तुलनामा कम भव्य सुनिन्छ। त्यसो त अर्का महासचिव गौरी जोशी अमेरिकाकै हुन् र अर्का अध्यक्ष रविना थापा नर्थ क्यारोलिनाभन्दा टेक्सासमा हुने कार्यक्रमका आयोजकसँग नजिक हुनुपर्ने परिस्थिति सृजना भएको छ।

त्यसो त नर्थ क्यारोलिका आयोजकका मुख्य सहयोगी डा पौडेलसँगको पुरानो वेमेलले मात्र होइन अमेरिकामै केन्द्रीय नेतृत्व हुँदाहुँदै कुल आचार्यलाई प्राथमिकामा राखेको नर्थक्यारोलिना समूहसँग केन्द्रीय अध्यक्षमध्येकी एक रविना थापाले अस्तित्वको लडाई लड्नुपर्ने बाध्यता छ। यो परिस्थितिले अध्यक्ष रविनालाई टेक्सासको टीमसँग कम्फरटेवल गराउन सक्छ। नेपाली कांग्रेसका एक थान नेताहरू अमेरिकातिरै पुगिसकेको र पुग्नेक्रम जारी छ ।

दुवै समन्वय परिषदहरूका आयोजक विचारका हिसावले कांग्रेस निकट मानिन्छन्। कमिटीभित्र कांग्रेस बाहेकका दलका मानिसहरू भएपनि ठूलो हिस्सा कांग्रेस निकट नै छ त्यसैले पनि अन्य दलको आलोचना यसपटक टरेको छ। नर्थ क्यारोलिनामा कार्यक्रम गर्ने वुद्धि सुवेदीमात्र होइन उनलाई सहयोग गर्ने महासचिव डा पौडेल, डा यादव पण्डित नेपाल छँदा कांग्रेस पार्टी निकट संगठनमा काम गरिसकेका व्यक्तिहरू हुन् ।

यता टेक्सासमा आयोजित कार्यक्रमको आयोजक पक्षका अध्यक्ष कृष्ण लामिछाने कांग्रेस निकट अमेरिकास्थित भातृ संगठनका संस्थापक महासचिव हुन् र उनीसँग संस्थाकै महासचिव गौरी जोशीमात्र होइन कांग्रेस पार्टीका चलायमान युवा नेता हरिबोल भण्डारी छन्। साथमा जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदी पछिल्लो समय नर्थक्यारोलिनाको आयोजकभन्दा टेक्सासको आयोजक पक्षको समूहमा गनिन्छन्।

जनसम्पर्क समिति अमेरिकाका वहालवाला अध्यक्ष आनन्द विष्ट नर्थ क्यारोलिनाको आयोजक पक्षसँग नजिक हुने देखिन्छ किनकि समितिका पूर्व संयोजक सुवेदी र विष्टको जुँगाको लडाईले यी दुबैलाई एकै ठाउमा राख्न असम्भव जस्तै भैसकेको छ ।

एनआरएन अमेरिकाका दुवै कमिटीको नेतृत्व कांग्रेस निकट भएकाले यस पटक अमेरिका भ्रमणमा रहेका कांग्रेस पार्टीका नेताहरूलाई केही नैतिक संकट पर्ने देखिन्छ। यी कार्यक्रमकै लागि भनेर आएकालाई त धेरै नैतिक संकट नपर्ला तर अरू नै कार्यक्रमका लागि भनेर अमेरिकाको भ्रमणमा रहेका डा. मिनेन्द्र रिजाललाई नैतिक संकट पर्ने देखिन्छ किनकि नेपालको राष्ट्रियताका पक्षमा आवाज वुलन्द गर्दा पछिल्लोपटकको मन्त्री पद गौण वनेको थियो उनका लागि। त्यसो त युवा राजनीतिका सुपरिचित पात्र विश्वप्रकाश शर्माका लागि पनि कार्यक्रमहरूमाथिको सहभागिताको असर पनि सामान्य नरहला ।

संस्थाको केन्द्रीय नेतृत्वको विवाद र भनिएको सहमतीय प्रणालीको विउको असर यत्रतत्र छ । स्थानीयस्तरमा यसको असर सीमित छैन जहाँजहाँ एनआरएनएको संगठन विस्तार छ त्यहाँत्यहाँसम्म छ। संस्थाका पूर्व केन्द्रीय अध्यक्ष शेष घलेको अघोषित समर्थन हाललाई नर्थक्यारोलिनाको पक्षमा रहे पनि पछि उनको पनि छुट्टै वा आफ्नै प्रकारको रहनेछ।

एनआरएनएमा देखिएको समस्याले एनआरएन समुदाय त विभाजित भएको छ नै यसले नेपालका राजनीतिक दलहरू र सरकारसम्मलाई आलोचना गराउने भएको छ। त्यसो त दल र सरकारका नेतृत्व नै एनआरएनए अभियानमा थोरबहुत प्रभावित हुने गरेका छन्।

संस्थाको गैरराजनीतिक उदेश्य कमजोर रहुन्जेल र निर्बाचन प्रणालीको गलत अभ्यास कायम रहुन्जेल पछिल्लो घटनाको असर बढ्दै जानेछ। अन्ततः संस्थाको अस्तित्व नै समाप्तितिर अगाडि बढ्ने छ ,वेलैमा नसोचे र जिम्मेवार नवने। नेप्लिज ईन द अमेरिका(एएनए) त्यसको गतिलो उदाहरण हो।

(आचार्य नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्वअध्यक्ष हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *