सुदूरपश्चिम र बानालाई उपाधि

डिसी नेपाल
९ साउन २०७९ २०:०७

काठमाडौं । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।

फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो ।

महिलाको फाइनलमा म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।

प्रतियोगिताको पुरुषमा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिलामा रमिला तण्डुकार बनिन् ।

प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्‍यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पार्‍यो ।

महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताले पाँच सय ५५ डलर हात पार्‍यो ।

दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उप नियोग प्रमुख कुमारराज खरेल रहेका थिए ।

विशेष अतिथिमा विधान सभा सदस्य डा ह्यारी भण्डारी , महावाणिज्यदूत प्रेमराजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ संस्थाका व्यक्तित्वहरू तथा प्रायोजकहरूले समेतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *