१ दिनारको मूल्य ४०० रुपैयाँभन्दा बढी, डलर र पाउन्डभन्दा महँगो हुनुको कारण के हो ?

डिसी नेपाल
१० साउन २०७९ १२:२३

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ। नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ।

पछिल्लो विनिमय दर अनुसार अहिले १ अमेरिकी डलरको खरिद मूल्य १२७.८८ रुपैयाँ पुगेको छ। डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ धेरैको चासोको विषय रहन्छ।

त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया र साउदी अरब लगायतका नेपालीका लागि प्रमुख श्रम गन्तव्यका रूपमा स्थापित मुलुकहरूको मुद्राको मूल्यबारे पनि बेलाबखत चर्चा हुने गर्छ।

तर के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ?

नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि तय गरेको विनिमय दर अनुसार १ ब्रिटिश पाउन्डको मूल्य १५३.८२ रुपैयाँ छ भने स्विट्जरल्यान्डको मुद्रा स्विस फ्र्याङ्कको भाउ १३२.६७ रुपैयाँ छ।

तर सबैभन्दा महँगो मुद्राका रूपमा भने कुवेतको दिनार सूचीकृत छ जसको मूल्य ४१६.३२ रुपैयाँ कायम छ। त्यसपछिको सबैभन्दा महँगो मुद्रामा बहराइनको दिनार रहेको छ जसको बजार मूल्य ३३९.२३ छ।

दिनार महँगो हुनुको कारण के हो?

प्रशस्तै तेल रहेको कुवेत साउदी अरब, इराक र इराननजिकै अवस्थित छ। अमेरिकी डलरदेखि पाउन्डजस्ता मुद्राको कतिपय वस्तु तथा सेवा आयातका लागि अन्तर्राष्ट्रिय बजारमा बढी माग हुन्छ जसले गर्दा ती मुद्रा बलियो भएका छन्। त्यस्तै सेवाको भुक्तानीका लागि पनि ती मुद्राको माग उच्च हुने बताइन्छ।

तर केन्द्रीय ब्याङ्कका एक पूर्वडेप्युटी गभर्नरका अनुसार कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्त्वले निर्देश गर्छ जसलाई पीपीपी अर्थात् पर्चेजिङ पाओर प्यारीटी भनिन्छ। यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको बताइन्छ।

”कुनै पनि मुद्राको विनिमय दर १००,२००,३०० भनेको … त्यसलाई डिटरमाइनिङ फ्याक्टर (निर्धारण गर्ने तत्त्व) भनेको त्यो मुद्राको पर्चेजिङ पाओर (खरिद गर्ने शक्ति) बराबर हुन्छ। त्यसलाई सोझो हिसाबले भन्दा १ दिनारको ४ डलर पर्छ भन्नुको अर्थ कुवेतमा एक दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत ४ डलर पर्छ,” नेपाल राष्ट्र ब्याङ्कका पूर्वडेप्युटी गभर्नर कृष्णबहादुर मानन्धरले बीबीसीसँग भने।

अर्थतन्त्रको आकार लगायतका पाटाहरूले भने यसमा उल्लेख्य फरक नपार्ने उनको भनाइ छ। ”दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ। तर सटही दर त्यति बलियो छैन। मुद्राको शक्ति खरिद शक्तिमै भर पर्छ,” मानन्धरले भने। नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित छ।

सोमवारको सटही दर हेर्दा १ कुवेती दिनार बराबर ३.२६ अमेरिकी डलर कायम रहेको देखिन्छ। १ ब्रिटिश पाउन्डको मूल्य २.७० कायम छ। कुनै पनि मुद्राको बलियो हुनमा उक्त मुलुकको ब्याज दर र बजार महँगीको प्रभावमा आधारित रहने बताइन्छ।

पछिल्लो अवधिमा कमजोर देखिएका मुद्राहरूमा आर्जेन्टिनाको पेसो र टर्कीको लिरा पर्छन्। ती मुद्रा कमजोर हुनुको कारण उच्च मुद्रास्फीति रहेको जानकारहरू बताउँछन्।

”बजार महँगी उच्च भएपछि त्यो देशको खरिद शक्ति त घटेर गयो नि। घटेर गएपछि त्यसता राष्ट्रको मुद्रा कमजोर हुनै पर्छ। कमजोर भएन भने उसको आयात-निर्यातको मात्रामा सन्तुलन मिल्दैन, धान्न नसकिने हुन्छ,” मानन्धरले थपे।

नेपालले दिनार सञ्चित गर्छ कि गर्दैन?

नेपाली मुद्राको तुलनामा सर्वाधिक महँगो भए पनि नेपालले दिनार सञ्चित भने गर्दैन। केन्द्रीय ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार नेपालले आवश्यकता परेको बेला मात्रै कुवेतको मुद्रा खरिद गरेर आफ्नो आवश्यकता पूर्ति गर्छ।

कुवेतसँग ठूलो व्यापारिक सम्बन्ध नभएका कारण पनि उक्त रकमको मौज्दात गरिराख्ने जरुरी नभएको अधिकारीहरू बताउँछन्। नेपालले सम्बन्धित राष्ट्रको सरकारबाट लिएको ऋण वा अन्य सरकारी कारोबारका लागि उक्त देशमा खाता भने कायम राख्दै आएको छ।

नेपालसँगको विनिमय दर कसरी तय हुन्छ?

नेपालको मुद्रा भारतीय मुद्रासँग आबद्ध (पेग) गरिएको छ। जसको अर्थ नेपाल र भारतको मुद्राको विनिमय दर स्थिर छ। भारतीय मुद्रा कमजोर वा बलियो हुँदा त्यसको असर अमेरिकी डलरसँगको विनिमय दरमा देखिन्छ।

भारतीय मुद्रा कमजोर भएको अवस्थामा डलरको मूल्य बढ्न जान्छ। अन्य मुद्राको विनिमय दर भने अमेरिकी डलरसँगको विनिमय दरमा आधारित भएर निर्धारित गरिन्छ।

कुवेतमा कार्यरत नेपाली श्रमिकले दिनार पठाउँदैनन्?

नेपालका लागि दिनार आर्जन गर्ने एउटा स्रोत निर्यात हो। तर निर्यातको आकार भने ठूलो छैन। केन्द्रीय ब्याङ्कले नेपालमा आप्रवाह हुने विप्रेषण डलरमा सटही गरी पठाउन निर्देशन जारी गरेकाले कुवेतमा रहेका श्रमिकहरूले नेपाल पठाउने रकम पनि डलरमै आउँछ।

पछिल्ला वर्षहरूमा कुवेतमा काम गर्ने श्रमिकहरूको सङ्ख्या पनि बढ्न थालेसँगै नेपालको आउने विदेशी मुद्राको अनुपात पनि बढिरहेको बताइन्छ। भट्टका अनुसार कुवेतबाट मासिक रूपमा झन्डै दुईदेखि तीन करोड अमेरिकी डलर विप्रेषणका रूपमा नेपाल भित्रिन्छ।

”कुवेत विप्रेषणका हिसाबले हाम्रो महत्त्वपूर्ण स्रोत मुलुकभित्र पर्छ। हामीले केही पहिले गरेको सर्वेक्षणअनुसार कुल विप्रेषण आप्रवाहमा यसले झन्डै १० प्रतिशत योगदान गर्छ,” भट्टले थपे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *