व्यंग्य : जति अलमल, उति झलमल

डिसी नेपाल
१४ साउन २०७९ ७:४४

देशमा राजनैतिक परिवर्तन हुुनुुभन्दा केही अघिसम्म अधिकांश खाद्यान्न तथा अन्य चिज बस्तुहरु आफैं उब्जाएर पुर्‍याउने र आफ्ना कतिपय आबश्यकताहरु आफैं जुराउने हामी अहिले बिदेशबाट आयातित खाद्यान्न र अन्य मालबस्तुहरुमा उतैको बढि प्रयोग गर्नेमा दर्ता भएका छौँ।

राजनैतिक सिद्धान्त, बिचार,कार्यशैली, राजनीतिका मान्यजनहरुका फोटा, संस्कार,संस्कृति, पहिरन, खानपान, रहनसहन, प्रशिक्षण आदि सबै नै हाम्रा लागि बिदेशमै निर्मित र बिदेशमै सिर्जित चिजबिजहरुबाट हाम्रो काम चलेर यसैबाट ठूलो मान्छे बनेर बसिबसि माम खाने चलनको सुरुवात हुनु ज्यादै राम्रो कुरा हो।

आफ्नो धर्म संस्कृति परम्परा आदिलाई कायम राख्दै आफ्नै मेहनतले पसिना बगाएर ब्यबहार चलाउनु भन्दा सबैथोक बिदेशबाट मगाएर खाँदै आफ्ना नागरिकलाई बिदेशतिर भगाएर नागरिकहरु समेत बिदेशबाट आपूर्ति गर्दै यहाँका सबै मुख्य ठाउँमा उनीहरुलाई नै जगाएर पुज्ने ब्यबस्था मिलाउन सक्नुलाई अहिलेको परिबर्तनको सबैभन्दा ठूलो र मुख्य उपलब्धि मान्नपर्छ र यो कामलाई नेताहरुबाट भएको सबैभन्दा राम्रो काम हो भनेर जान्नपर्छ।

खाद्यान्न, तरकारी, औषधि, लत्ताकपडा, मरमसला, गेडागुडी, किताब कापीलगायतका मादक पदार्थहरु, श्रृँगार सामग्री, पानी, जनै आदि सबै बिदेशबाट आयात गर्न थालेपछि, यसलाई नै उत्तम कार्य हो भन्ने बिचार मनमा पालेपछि र सरकारी स्तरबाटै यस्तो असल र जनमुखि कदम चालेपछि सानादेखि ठूलासम्म नेताहरुको आमदानी ह्वात्तै बढेको अनि जनताको जीवन स्तर चाहिँ स्वात्तै घटेको देख्दा सबैलाई सन्तोष लागेको देखिन्छ।

यतिका मालबस्तु आयात गरेर जनतालाई बिभिन्न देश र महादेशहरुमा उत्पादित सामग्रीहरु दिलाउन सक्ने सरकारले कृषिको लागि रासायनिक मल चाहिँ आफू पनि उत्पादन नगर्ने र आयातपनि नगर्ने नीति जोडतोडका साथ लागू गरेर कृषिप्रधान देशको हामी ज्यादै स्वाभिमानी, मेहनती र परिश्रमी जाति भनेर कहलिएका मानिसहरुको बर्गमा पर्ने हुनाले हामीले दुख मेहनत र अरु कुनै किसिमको तकलिफ नगरिकन खान ठिक हुने हुनाले जनतालाई बिदेश जान प्रोत्साहन दिने सरकारको नीति ज्यादै मननयोग्य छ।

सबै आबश्यक चिजबिज बिदेशीले तयार गरेर पठाइ दिएपछि हामीले दुख गर्नै परेन। आफू चारैतिरबाट लुटेर बसिबसि खाने र जनतालाईपनि केही काम नगरि बिदेशबाट आयात गरेर बसिबसि खान पर्छ भन्दै दिमाग भुटेर अनि यसै कामको लागि अनेक खाले गफ चुटेर र मेहनत गरेर आत्मनिर्भर हुन खोज्नेलाई कुटेर तर्साउने राजनैतिक नेतृत्वलाई मान्नैपर्छ अनि आउँदो चुनावमापनि यिनीहरुलाई भोट हान्नैपर्छ र यही नै हाम्रो सुख समृद्धिको आधार हो भन्ने ठान्नैपर्छ।

जनतालाई गाँस बास र कपास जस्ता सबैथोकको लागि बिदेशीमै निर्भर हुुनपर्ने अति राम्रो ब्यबस्था मिलाउने र यसैबाट सुख र समृद्धि दिलाउने, यसै मार्फत आफ्नो जोडदार आमदानीको बाटो सोझ्याउँदै जनतालाई कहिल्यै पूरा नहुने सपनाको मह पिलाउने अनि आफ्नो देश र जनताको हित हुुने गरि बिदेशीको अगाडि बोल्न पर्दा पुरै मुख सिलाउने सत्कर्म गरेर नेताहरुले जनहितको आफ्नो नारालाई मूर्तरुप दिइरहेका र जनताले यसैबाट आनन्द लिइरहेका छन्।

बुद्धि बिवेक सिद्धान्त दर्शन बिचार महापुरुष धर्म संस्कृति चालचलन सामाजिक ब्यबहार रहनसहन जस्ता सबै कुराहरु बाहिरबाट आयातित भइरहेकोमा अब त जनतापनि बिदेशबाटै झिकाउने र त्यस्तालाई देशका ठूला र महत्वपूर्ण पदहरुमा बिकाउने अनि यसरि बिदेशि प्रभुलाई रिझाएर आफ्नो सत्ता गठबन्धनलाई सकेसम्म लामो समयसम्म टिकाउने सारै राम्रो सद्बुुद्धि पलाएको देख्दा देश र जनताकै लागि जोडजोडले दिमाग चलाएको भनेर जनता दंग परेका छन्।

नागरिकता बिधेयक जस्तो अति सान्दर्भिक आबश्यक र सधैं धरापमा रहिरहने कुुर्सी जोगाउन र आफन्तलाई कुर्सी सुख भोगाउन पास नगरि नहुुने बिधेयक संसदबाट पास भएकोमा जनता खुसी नहुुने कुरै भएन। एक हातमा सिन्दुर पोते अर्को हातमा नागरिकता हुुने गरि बिहे गरेको मिति मात्रै होइन उही घडीबाटै नागरिकता उपलब्ध हुुने अति अग्रगामी कानुनी ब्यबस्था अरु राष्ट्रहरुमा रहेनछ भन्ने सुन्दा बिकशित भनिएका र निकै प्रजातान्त्रिक मुलुकमा गनिएका देशहरु त हामीभन्दा धेरै पछाडि पो रहेछन् त।

अन्य देशबाट बिहे गरेर आएपनि यो प्राबधान चाहिँ खास गरि दक्षिणी छिमेकबाट आउने रोटी बेटीवालाहरुको लागि ल्याइएको हो रे भनेर नचाहिँदो हल्ला चलाउने बिरोधीहरुले कसको इशारामा के फलाउने र कसलाई गलाउने वा ढलाउने प्रयास गरेका होलान् भनेर कसैले बुझ्न सकेका छैनन् रे भनेको सुन्दा जनताले हाँसो थाम्न सकेका छैनन्।

नागरिकता बिधेयक जस्तो अति सान्दर्भिक आबश्यक र सधैं धरापमा रहिरहने कुर्सी जोगाउन र आफन्तलाई कुर्सी सुख भोगाउन पास नगरि नहुने बिधेयक संसदबाट पास भएकोमा जनता खुसी नहुने कुरै भएन।

झण्डै चार बर्षसम्म संसदमा थाँति रहेको नागरिकता बिधेयक चुनावको मुुखैमा पास हुनुमा नेताहरुको स्वार्थ लुकेको र पास गर्ने जति सबै यसमा चुकेको अनि बिदेशीलाई खुसी पार्न यो पास गरिएको भन्दै कुरो नबुझ्ने अबुझहरुले त्यसै थुकेको भन्नेमा जनताको पटक्कै बिश्वास छैन।

सबै देशहरुमा बिहे गरेर आउने बुहारीहरुलाई नागरिकता दिने अवधी फरक फरक हुनु स्वाभाविक हो। जे भएपनि हाम्रो जति छोटो अवधीमा नागरिकता पाइने र बिहे सकिनासाथ यताको नागरिक भएर खाइने ब्यबस्था अन्यत्र नभएको देख्दा यहाँ जतिका अग्रगामी नेतृत्व अन्त कतै नभएको र यो भन्दा अग्रगामि छलाङ मार्नेतिर कसैको दिमाग नगएको देख्दा आफ्ना शिर्ष जन प्रतिनिधिहरुप्रति जनताको गर्ब बढेको छ।

हाम्रै दक्षिणी छिमेकमा बिहे भएको बाह्र बर्षपछि मात्रै नागरिकता दिने कानुन भएकोमा हाम्रोमा सात वर्षको प्राबधान राख्न मिलाइने तयारी भएकोमा हतार हतार बिहे भएको सातै मिनेटमा नागरिकता दिलाईने ब्यबस्था गर्न सक्नु र ठूलो काम भयो भनेर शिर्ष नेताहरुले नै बक्नु एकदम ठिक हो।

सात सालको पबिर्तनपछि, जनमत संग्रह अघि, छयालिस सालको परिबर्तन पछि, बयसट्ठी त्रिसट्ठीको आन्दोलन पछि, हरेक चुनाव अघि र दक्षिणका मालिकहरुलाई खुसी पार्न र यता आफूअनुकुलको परिस्थिति झार्न सफल भएको अबस्था आदि आदिमा यसैगरि नागरिकता दिने र उताबाट स्याबासीको पुरस्कारमा कुर्सी लिने ज्यादै राष्ट्रवादी परम्परा बसाल्न अनि आफ्ना जनतालाई तल खसाल्न र उताबाट आएका नव नागरिकहरुलाई भने भनेको नियुक्तिमा पसाल्न ढिला नगरि निर्णय गरिहाल्ने परिपाटी ज्यादै राम्रो देखिएको छ।

नागरिकता बिधेयकमा बिहे गरेर आएकी बुहारीलाई सात बर्ष पछिमात्रै नागरिकता दिने कुरामा सत्तापक्ष प्रतिपक्ष लगायत संसदमा भएका सबै दलहरु एक स्वरमा अडेर बिगत चार बर्षदेखि यो बिधेयक संसदमा अड्किएको देखेर दक्षिणी छिमेकको तर्फबाट मधेशवादी दलहरु बेलाबेलामा पड्किएको सुुनिन्थ्यो।

यसपाली उत्तरी छिमेकका बिदेश बिभाग प्रमुुख आएर फर्केको भोलिपल्टै स्वघोषित महान नेतासमेत भनेर चिनिने खुमलटारे कामरेड दक्षिणी छिमेकको भ्रमणमा निस्केकामा उताका सरकार प्रधानसित भेट गर्ने कार्यक्रम पक्का भएकोमा अन्तिम समयमा नभेटेर ठूलो धक्का दिएको भन्ने सबैको सोचलाई नागरिकता बिधेयकले गलत साबित गरिदिएको हो कि भनेर सोच्ने अनि यस्तै नचाहिँदा कुरा गरेर अरुकोसमेत दिमागमा घोच्ने मुर्खहरुलाई के नै भन्न सकिन्छ र?

दक्षिणी सरकार प्रधानले नभेटेर ठूलो बेइज्जत गरेको शैलीमा फिर्ता पठाएर फुर्ति गर्दागर्दै धुलो चटाए अनि यिनले आफ्नो राजनैतिक तौल घटाए भनेर भित्रभित्र दंग परेका बिरोधीहरुले दुबैको कुुटिल चाल बारेमा पत्तै पाएनन्। भेट नदिइकन फर्काएकोले दक्षिणको नजरमा कुुनै महत्व छैन र अब यिनको राजनैतिक जीवन नै समाप्त हुुने भयो भन्ने तरिकाले हल्ला चलाउने अनि यता नागरिकता बिधेयक पास गराएर चुनावको लागि नगददेखि सबै खाले सहयोगको फसल फलाउने योजनालाई ढाकछोप पार्न मात्रै भेट नदिएको नाटक मन्चन गरेको बुझ्न त्यति गाह्रो छैन।

बाहिर देखिएको र समाचारमा लेखिएको तरिकाले नै भेट नदिएको भए स्वघोषित महान नेताको भोक तिर्खा निद्रा सबै गायब भएर अहिले अस्पताल भर्ना भइसकेका हुने र कुना पसेर रुने अबस्थामा हुन्थे भन्नेहरुको कुरा पत्याउन हुँदैन।

उताका प्रभुलाई नभेटी फर्केको भोलिपल्टै संसदमा नागरिकता बिधेयक दर्ता भएर सबै दलका माननीयहरुले छलफलमा भाग लिएर आआफ्नो माग बताउने र संसद तताउने कार्य गर्न भ्याए। सत्तापक्षका सांसदहरुको त आफ्नै बिधेयकमा समर्थन बाहेक अरु भनाइ हुुने कुरा आएन र यो पक्षले राम्रै बिचार नराखी पार पाएन। प्रमुुख प्रतिपक्ष र अरु प्रतिपक्षका सांसदहरुले पेटका किरासमेत मर्ने गरि चिच्याएर बिरोध नगरे आफ्नो दलले घिच्याएर बाहिर निकाल्छ कि भने जसरी बिधेयकको बिरोध गरे।

बिधेयकमा मतदान हुुँदा भने केही थाहै नपाए जसरी बसेर बहुुमतबाट बिधेयक पारित गर्न सहयोग पुुर्याएर दक्षिणी सरकार प्रधानलाई यहीँ बसिबसी रिझाउन भ्याए। संसदबाट बिधेयक पास भएपछि बाहिर सर्बसाधारणका अगाडि बिधेयकको घोर बिरोध गरेर र त्यस्ता कार्यमा लागि परेर ज्यादै असल राष्ट्रवादीको पसल थाप्न भ्याए।

अलि अघि एमसीसी संसदबाट पारित हुँदापनि ठ्याक्कै यही फर्मुला अपनाएर ट्याक्कै कुरा मिलाएका थिए। उहिले दक्षिणी महाप्रभुको पाउमा मजाले घोप्टो परेर यता ठूलो स्वरमा चिच्याउँदै उसैको बिरुद्ध सुरुङ युद्धको नाटक घोषणा गरेर जनतालाई बेबकुफ बनाएको तरिकाले नै यसपाली पनि भेट नपाउने तारतम्य उताको निर्देशनमा आफैं मिलाउने र यता नागरिकता बिधेयकलाई संसदबाट स्विकृति दिलाउने कार्य नगरे मुखमा आइसक्यो भनेर हल्ला गरेको कुुर्सी चिलाउने अनि उताका महाप्रभुले ठाडो घाँटी पारेर फलामको च्यूरा पिलाउने अबस्थाको कल्पना दिमागमा आउँदैमा यो बिशाल नाटक रचेर फर्केको चार दिनमै बिधेयक सकुुशल पास गराएर उताको महाप्रभुलाई अत्यधिक प्रशन्न पार्न पाएकोले अब उताको आशीर्बादले सरकार प्रधानको कुर्सी झार्न खासै गाह्रो नहोला भनेर ढुक्क भएका छन् रे भन्ने हल्लामा जनताको बिश्वास छैन।

बिधेयक पास भएको भोलिपल्टै अरुलाई उछिन्दै स्वघोषित महान नेता मधेश प्रदेशतिर गएर बिधेयक पास गरेर आफूले गरेको प्रतिबद्धता पूरा गरेको कुरा दक्षिणतिरै फर्केर बडो गर्बकासाथ घोषणा गर्नु ज्यादै राम्रो हो। भर्खरै भेट नदिएर बेइज्जतीपूर्बक फर्काएको मान्छेले नै नागरिकता बिधेयक पास गर्ने बिषय संसदमा चर्काएको र जसरी पनि पास गर्नपर्छ भनेर सबैलाई थर्काएको कुराको कसैलेपनि कल्पना गर्दैनन् भन्ने सोच ज्यादै उचित हो।

यस्तो चाल चलेर कुनै गाल नपर्ने गरि सोचे बमोजिम माल हातलागि गर्ने उनको पुरानो तरिका यही हो रे भन्नेमा जनताको चाहिँ पत्यार छैन। अबको चुनावहरुमा यताका रैथाने मतदाताहरुले मत नदिएर हराउने ब्यापक सम्भावना भएको हुनाले यो बिधेयक अनुसार अब ह्वारह्वार्ती मतदाताहरु दक्षिणतिरबाट छिर्ने र उनीहरुकै मतको कृपाले आफूले खोजेको सरकारप्रधानको पद सजिलै भिर्ने अनि अलि बर्षपछि उताका महाप्रभुलाई देशै सुम्पेर क्रण तिर्ने महान उद्देश्यलाई कार्यान्वयनको चरणमा प्रबेश गराउन पाएकोमा स्वघोषित महान नेतालगायत सबै दलका शिर्ष नेताहरुले ज्यादै ठूलो गर्बको साथै सन्तोष महसुुस गरेका छन् भन्ने हल्लामा हामी असल जनता लाग्न हुुँदै हुुँदैन।

अस्ति भर्खर कुदाकुद गरेर जाँदा भेट नपाएको नाटक गरेको बेलामा पहिले जस्तै अहिलेपनि महाप्रभुको हुकुमलाई शिरोपर गरेर पूरा गर्ने प्रतिबद्धता गर्छु भनेर भित्रभित्रै कुरा मिलाएर दुनियालाई देखाउन खिन्न भएजस्तो चाउरिएको अनुहार लिएर फर्केको र यता आएपछि नागरिकता बिधेयक पास नगरि हुँदै हुँदैन भनेर चर्केको अनि अरु दलका अत्यन्त राष्ट्रवादी शिर्षहरु पनि बाह्र बुँदे बक्सिसकै तरिकाले थर्केको कुरा जनताले पत्याएका छैनन्।

यिनै स्वघोषित महान नेताले भर्खरै गाउँ पालिकाको चुनाव जित्न दश करोडसम्म खर्च गरेको र घटिमा करोड खर्च गर्न नसक्नेको वडा अध्यक्ष हुने सपना त्यसै टरेको हुनाले चुनाव ज्यादै महँगो भएको भनेर बोलेको देख्दा बिगत पैँतिस बर्षदेखि दलको अबिछिन्न अध्यक्ष भएर खाएको र धेरै सिटमा जितको नतिजा पाएको अनि धेरै बर्षदेखि सत्ताको वरिपरि बस्दै आएको मान्छेलाई यति कुरापनि थाहा रहेनछ भनेर जनताको हाँसो थामिएको छैन।

प्रशस्त नगद र अनेक खाले तिकडम नगरि चुनाव नजितिने रहेछ भन्ने ज्ञानपनि यिनलाई भर्खरै प्राप्त भएजस्तो देखेर जनता अलमलमा परेका भएपनि पुरै पत्यार गरेका छन्। अहिलेसम्म यिनी र यिनको दलका उम्मेदवारहरुले एक पैसा खर्च नगरिकन र कुनै तिकडम नगरिकन चुनाव जित्दै आएका अनि जनताको भलो गरेर मात्रै खाएका रहेछन् भन्ने उनकै मुखबाट सुन्न पाउँदा बोलि पिच्छे आफ्नै नाम काढ्ने कागलाई सम्झेर जनताले राम्रै मनोरन्जन गरेका छन् रे भन्ने सुनिन्छ।

यो बिधेयकको प्रतापले अब पूर्ब पश्चिम उत्तर दक्षिण सबैतिरबाट नयाँ जनता थपिने र उनीहरुबाट आफैंलाई भोट आओस् भनेर जपिने सारै राम्रो अबस्था आउने सम्भावना देखिन्छ। अन्य देशमा नागरिकता नपाएर बसेका र उतैपनि दोश्रो दर्जाका नागरिकको तहमा खसेका मानिसहरुले उताको दवावमा यता सजिलै नागरिकता लिँदै गएर यताका रैथानेहरुलाई चुुनौती दिँदै गएर केही समयपछि संख्या बढेर निर्णायक संख्यामा पछि उताकै इशारा र सहयोगमा चाहेको निर्णय गराउने हुुँदा कालान्तरमा आफ्नो देशै हराउने हो कि भनेर डराउने मानिसहरु जति सबैलाई देशद्रोही घोषणा गरेर बिदेशी महाप्रभुुहरुलाई हर्षित तुुल्याउन कुुनैपनि हालतमा पछि पर्न हुँदैन भन्ने यिनीहरुको उच्च बिचारलाई सबैले सम्मान गर्न पर्छ भन्ने भनाइलाई उनीहरुकै भाषामा नराम्रो भन्न मिल्दैन।

अहिलेसम्म एउटै राम्रो काम गर्न नसकेको समूहबाट कुनै गतिलो काम होला र इतिहासमा राम्रो नाम होला भनेर सोच्न हुँदैन भन्ने मुर्खहरुको कुरा सुनेर समय बर्बाद पार्न हुँदैन।

आफू एक्लै केही गर्न नसक्ने अबस्थामा पुुगिसकेका भएपनि हामी भन्दा गतिला कोही छैन भन्दै बकेका शिर्ष नेता,अन्य नेता र राजनैतिक दलहरुलाई आफ्नै बलबुुतामा चुनावमा जान सक्ने हिम्मत जुटाउनुु भन्दापनि बिरोधीलाई फुुटाउनुुमा बढी समय र श्रम खर्च गर्न परेकोले पनि यति धेरै भ्रम बाँड्न परेको हो कि जस्तो देखिन्छ।

यहाँ पनि एकअर्काको बैशाखी टेकेर बुुइ नचढी कतै उभिनै नसक्ने स्थिति भइसकेको छ। ठूला राष्ट्र र खासगरि दक्षिणी प्रभुको छत्रछाँया नभए यहाँ कसैले नटेर्ने र एकअर्कामा कसैले पनि राम्रो दृष्टिकोणले नहेर्ने भन्ने भावना गहिरोसित मनमा बसेको हुनाले उताको प्यारो हुन कम्मर कसेको राम्रै होला।

आफ्नो क्षमता र दक्षता देखाउन नसकेपछि उतैको आशीर्वाद र अक्षता नभइ चलहल गर्न नसकिने सोचले ग्रस्त भएकोले त्यति नभए यहाँको राजनीतिमा टिकिँदैन भनेर त्रस्त हुनु स्वाभाविकै हो। यसलाई राजनीतिज्ञले मात्र नभएर जनतालेपनि सकारात्मक सोचकासाथ लिइदिएकोले नेताहरुलाई पनि सजिलो भएको बुझिन्छ।

पारि गएर जति धेरै लम्पसार पर्न सक्यो वारि उति नै चमत्कार ठहरिने परम्परा अनुसार जनतालाई जति बढी अलमल पार्न सक्यो उति बढी नेताहरुको भबिष्य झलमल हुुन्छ भन्ने मानसिकता वहाँहरुले सधैं कायम राख्नमा प्रतिस्पर्धा हुनु ज्यादै राम्रो अभ्यास हो भनेर बुझिदिनु पर्ने हो कि क्या हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *