प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक सम्पन्न, आठौं केन्द्रिय सम्मेलनको मिति तय

डिसी नेपाल
३१ साउन २०७९ १०:२७

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम लामो समयको अन्तरालमा आइतबार भारतको चण्डीगडमा सम्पन्न भएको छ। बैठकले आठौ केन्द्रिय सम्मलेनको लागि आगामी १९, २० र २१ फरवरी २०२३ का दिन महाराष्ट्र राज्यमा सम्पन्न गर्ने निर्णय गरेको छ।

‘सातौ अखिल भारत सम्मेलन सन् २०१२ मा मध्यप्रदेशको राजधानी भोपालमा सम्पन्न भएको थियो। देशमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्नु, कोभिड महामारीले विश्व नै आक्रान्त हुनु जस्ता विविध समस्याले समयमा नै सम्मलेन सम्पन्न गर्न सकेनौ। यो १० वर्षको अवधिमा २ वटा सम्मलेन हुनुपर्ने थियो तर पनि यो बिस्तारित बैठकले आठौं अखिल भारत सम्मलेनको मिति तोकेको छ। अब हामी छिट्टै सम्मलेन सम्पन्न पार्ने तयारीमा जुट्छौ।’ संघका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद हुमागाईले डिसी नेपालसंगको कुराकानीमा बताए।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे विशेष अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए।

विशेष कारणवस उपस्थिति हुन नसकेको बताउदै नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमाले महासचिव शंकर पोख्रेललेसमेत भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै ओलीले प्रवासी नेपालीहरुले पुराएको योगदानको उच्च सम्मान गर्दै आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी भएर नेकपा एमालेका उम्मेद्वारलाई जिताउन समेत आवाहान गरेका थिए। साथै अहिलेको सरकार नालाएक र असक्षम भएकोले आगामी नेतृत्व नेकपा एमालेले नगर्ने हो भने देश बर्वादीको तर्फ जाने समेत उनले बताए।

१३ र १४ अगस्त, २०२२ मा भारतको चण्डीगडमा आयोजित बिस्तारित बैठकमा केन्द्रिय सदस्य, विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव टिका पौड्यालले संचालन र केन्द्रिय सचिव छवि भट्टराईले सहसंचालन गरेका थिए।

बैठकले आठौं अखिल भारत प्रवासी नेपाली सम्मलेनको लागि अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा २०१ सदस्यीय आयोजक समिति गठन गरेको छ। कार्यक्रम पंजाव, हिमान्चल, चण्डीगड संयुक्त राज्य समितिको ब्यबस्थापनमा चण्डीगडमा सम्पन्न गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *