राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

डिसी नेपाल
२ भदौ २०७९ ६:४७

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ। गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ।

राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्। प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ।

यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ। सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा छन्। पहिलो- सदनमै पुनर्विचार गर्ने। दोस्रो-संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने।

राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ। त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन्।

नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ। बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन्।

गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ। मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन। स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *