‘कृष्ण लीला’ टिमले झुमायो चितवनवासीलाई

डिसी नेपाल
२ भदौ २०७९ १३:५०
68
Shares

काठमाडौँ। कृष्णजन्माष्टमी अर्थात ३ भदौदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ।

सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द चितवन पुगेका थिए।

ओएसिस एजुकेसनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुर कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरूलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल वाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए।

बुद्धि तामाङ र रविन्द्र झाले दर्शकहरूलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए। गायक रवि र गायिका सुनिताले ‘अटल वाचा गरे’ गाउँदा दर्शकहरू निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए।

चितवनबासी दर्शक श्रोताबाट पाएको माया, सम्मान र हौसलाले निकै खुशी लागेको अभिनेता पुष्पले बताए। उनले आफू जहिल्यै चितवन आउँदा पनि औधी माया पाइरहेको स्मरण गरे।

निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसाबले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपुर माया र साथको अपेक्षा राखेको बताइन्। साँझ ५ बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो।

द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकिवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत थिए। आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।

लक्ष्मण सुवेदी लिखित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रका साथमा हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँले अभिनय गरेका छन्।

प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मका गीतमा रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी छ। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा श्री श्रेष्ठको थ्रिल छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *