युवाहरूलाई गरिँदैछ रक्सी पिउन अपील, यो देशमा चलिरहेको छ अनौठो अभियान

डिसी नेपाल
४ भदौ २०७९ १४:११

काठमाडौं । देशका युवालाई मदिरा पिउन आग्रह गरिँदैछ । यो सुन्दा अलि अनौठो लाग्छ । तर एसियाको एउटा देशमा राजस्वमा आएको कमीको पूर्ति गर्न युवाहरूलाई मदिरा सेवन गर्न अपिल गरिएको छ ।

यसका साथै मदिराको खपत कसरी बढाउने भन्ने विषयमा पनि मानिसहरुसँग आइडिया लिइएको छ । जापानका युवाहरुले पर्याप्त मात्रामा मदिरा सेवन नगरेको बताइन्छ । कोभिडपछि रेस्टुरेन्ट र बारहरूमा रक्सीको बिक्री घटेको छ। जसका कारण मुलुकको राजस्वमा कमी आएको छ ।

मिडिया रिपोर्टका अनुसार जापानको नेशनल ट्याक्स एजेन्सीले साके भिभा नामक अभियान सुरु गरेको छ । यसअन्तर्गत २० देखि ३९ वर्ष उमेर समूहका मानिसहरूलाई ह्विस्की, वाइन र बियर जस्ता पेय पदार्थ पिउन भनिएको छ।

यससँगै एजेन्सीले मदिराको बिक्री बढाउन सक्ने खालका व्यवसायिक आइडिया पनि खोजेको छ । बीबीसीको रिपोर्ट अनुसार सेप्टेम्बरको अन्त्यसम्ममा मानिसहरूले आफ्ना विचारहरू पठाउन सक्नेछन्। मानिसहरूले उत्पादन र यसको डिजाइनको बारेमा आफ्नो विचार दिन सक्छन्।

कर एजेन्सीले सञ्चालन गरेको उक्त अभियानका सम्बन्धमा वेबसाइटमा जन्मदरमा आएको गिरावट र वृद्धवृद्धाको संख्यामा बृद्धि भएकाले जीवनशैलीमा ठूलो परिवर्तन आएको बताइएको छ । यस्ता परिवर्तनका कारण स्वदेशी मदिराको बजार घट्न थालेको छ ।

विश्व बैंकको तथ्याङ्क अनुसार जापानको एक तिहाइ जनसंख्या ६५ वर्ष वा सोभन्दा माथिका छन् । जापान टाइम्सका अनुसार सन् १९८० मा मदिराबाट हुने कर राजस्व ५ प्रतिशत थियो, जुन २०२० मा १.७ प्रतिशतमा झरेको छ । कर एजेन्सीका अधिकारीका अनुसार कोभिड संकटका बेला घरबाट काम गर्ने क्रममा मदिराको सेवन केही हदसम्म बढेको थियो ।

ब्लुमबर्गका अनुसार जापानको कर एजेन्सीले कोभिड र घट्दै गएको जनसंख्याका कारण रक्सीको खपत घटेको अवस्थामा वाइन उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताएको छ । किरिन लागर र इचिबान शिबोरी बनाउने कम्पनीले सन् २०२० मा जापानमा प्रतिव्यक्ति ५५ बोतल बियर खपत भएको र यो अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले कम भएको बताएको द गार्डियनको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो २५ वर्षको तुलनामा जापानमा अहिले मानिसहरु निकै कम रक्सी पिउने गरेका छन् । नेसनल ट्याक्स एजेन्सीका अनुसार सन् १९९५ मा जापानमा हरेक वर्ष प्रतिव्यक्ति १०० लिटर रक्सी खपत हुने गरेको थियो । २०२० मा यो संख्या ७५ लिटरमा आयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *