बागमती प्रदेश सरकारले वातावरण सम्मेलन आयोजना गर्ने

डिसी नेपाल
१० भदौ २०७९ १८:०१

काठमाडौ । वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज आज सरोकारवालासँग छलफल गरेका छन् ।

राजधानी काठमाडौंमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विधिधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढङ्गको छलफल हुनुपर्नेमा जोड दिए ।

जलवायु परितर्वनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए। वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ थियो ।

बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तरराष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताए । वातावरण संरक्षणको मुद्दामा सङ्घ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारका बारेमा सम्मेलनले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

आजको छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *