बाबुको मुख हेर्ने दिन ‘महापुरुष’ को नयाँ गीत ‘बा’ सार्वजनिक
काठमाडौं। बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’ सार्वजनिक गरेको छ।
केही दिन अगाडि मात्र चिनाएको अरुण क्षेत्री र बाको रूपमा फिल्ममा रहेका हरिवंश आचार्यबीचको सम्बन्धलाई गीतमा चित्रण गरिएको छ। बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने मर्मस्पर्शी गीतलाई कवि नवराज पराजुलीले लेखेका हुन्।
गीतमा रिदम कँडेलको स्वर तथा संगीत रहेको छ। कविता लेख्दै आएका नवराज यसै फिल्ममार्फत गीत लेखनमा आएका हुन्। उनको उपस्थिति शब्दमा छ। उनले बाबु र छोराबीचको सम्बन्धलाई शब्दमार्फत व्यक्त गरेका छन्। ती शब्दलाई जीवन्त बनाउन भिडियोमा हरिवंशसँगै अरुण पनि उत्तिकै मेहनती देखिएका छन्।
हरिवंशसँग स्क्रिन सेयर गर्दा अरुणले देखाएको आत्मविश्वासले उनको उज्वल भविष्य संकेत गर्छ। ‘महापुरूष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग्य गरिने छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् ।
उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते। शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन्।
षट्कोण आर्ट्सको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ ।
कलाकारसमेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन्। ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment