एकै दिन झन्डै आठ सय कर्मचारीको सरुवा

डिसी नेपाल
२३ भदौ २०७९ ७:२०

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ ।

सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।

आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो । सरुवा भएका सबै जना एक स्थानीय तहबाट अर्को स्थानीय तहमा गएका छन् ।

लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत ७ सय ८४ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सरुवाको लागि २० भदौसम्म निवेदन दिने समय तोकेको थियो ।

लोकसेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको दाबी छ । यस सरुवामा निवेदन दिएका कतिपयले भने आफ्नो सरुवा नभएको भन्दै गुनासो गरेका छन् । उनीहरूले केही ठाउँका सरुवामा चलखेल भएको आरोप लगाएका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *