बिदा भए इन्द्रजात्राका पाहुना

डिसी नेपाल
२७ भदौ २०७९ २०:२५

काठमाडौं । वर्षा र सहकालको देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना बिदा भएका छन् । ऐतिहसिक जात्रा अवलोकनका लागि काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा देशका विभिन्न स्थान र विदेशबाट पाहुना काठमाडौँ आएका थिए । जात्राको अवलोकनसँगै पाहुनालाई वसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा यात्रा, आन्तरिक भेट गराइएको थियो ।

जुद्ध शालिकबाट सुरु भएको सम्पदा पदयात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै बसन्तपुर फर्किएको थियो । त्यस क्रममा इन्द्रजात्रासँग सम्बन्धित सामाजिक तथा सांस्कृतिक गतिविधि, हिटी संस्कृति, आकाश भैरव, देशेमरु झ्याःसहितका सांस्कृतिक गतिविधि अवलोकन गराइएको थियो । मठमन्दिर, देवालय, चोक तथा यससँग जोडिएका घटनाका विषयमा समेत जानकारी गराइएको थियो ।

स्थानीय बाजागाजासहितको पदयात्राका क्रममा माटाका भाँडा बनाउने, कपडा बुन्ने, सामाजिक खाना तथा परिकार निर्माणजस्ता क्रियाकलापको अवलोकन गराइएको थियो । यसैगरी विश्वसम्पदा क्षेत्र स्वयम्भू स्तूप परिसरको पनि अवलोकन गराइएको थियो ।

छिमेकी नगरको अवलोकन भ्रमण

भक्तपुर नगरसँगको समन्वयमा पाहुनाहरूलाई भक्तपुर दरबार स्क्वायर र ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर अवलोकन भ्रमण गराएको थियो । भ्रमणका अवसरमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले आफूसँग भगिनी सम्बन्ध भएका नगरप्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई उपत्यकाका नगरहरूको भ्रमण गराएका थिए ।

यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरले भगिनी सम्बन्ध भएका राष्ट्रिय पाँच वटा र अन्तर्राष्ट्रिय १८ वटा नगरलाई आमन्त्रण गरेको थियो । विश्वव्यापी रूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय नगरबाट यस वर्ष सहभागीको सङ्ख्या कम रह्यो । यसमा संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्गबाट स्कट हेनरी देलिसीसहित दुई उपस्थित भए ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधाना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित पछिल्लो समय बाहिरी जिल्लामा पनि मनाउन थालिएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथजात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने गरिन्छ ।

राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेषगरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रूपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको कामपाका प्रमुख बालेन्द्र साह बताउँछन् । यस वर्षको इन्द्रजात्रा यही भदौ २४ गते परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *