दार्चुलाको छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

डिसी नेपाल
३० भदौ २०७९ १८:२७

दार्चुला । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर बुधवारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

यो सँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ । फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको हो ।

अब छाङरुमा रहेका १२० घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमाना सम्म फोरजीको पहुँच पुगेको छ ।

यस स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प लगायत नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । फोरजी सेवा सञ्चालन भएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *