यसरी उदाए हर्क

डिसी नेपाल
१ असोज २०७९ ६:३५

इटहरी। विकासोन्मुख सहरका रूपमा परिचित छ, धरान । शिक्षा, स्वास्थ्य क्षेत्रले सम्पन्न सहर भए पनि यहाँ वर्षौंदेखि खानेपानी समस्या ज्यूँका त्यूँ छ । धराने जनताले ‘खानेपानी सहज रूपमा पाउनुपर्छ’ भनेर कैयौं आन्दोलन गरे ।

कहिले खानेपानी मुहान फुट्दा कर्मचारीलाई जानकारी गराउने त कहिले खानेपानी मुद्दा विषयमा उपमहानगरको गेटै भत्काउनेसम्मका आन्दोलन भए ।

विशेषगरी, धरानमा फागुन, चैत र वैशाखमा खानेपानी हाहाकार हुन्छ । त्यसबेला मात्रै जुट्छन्, कतिपय अभियन्ता पनि । कतिपय दल चुनावताका खानेपानी समस्या समाधान विषयमा ‘राजनीतिक एजेन्डा’का रूपमा अगाडि सार्दै आएका छन् । तर, उनीहरूका एजेन्डा चुनावभर सीमित हुन्छ ।
०००००
पटकपटक कम्युनिस्ट जिताएका धरानले २०७६ को उपनिर्वाचनमा परिवर्तन चाहेका कारण कांग्रेस चुने । तर, कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित तिलक राईले पनि खानेपानीका लागि आशलाग्दो नेतृत्व गर्न नसकेपछि गत चैतमा उपमहानगरअगाडि रित्तो गाग्री लिएर खानेपानी नपाएको धरान आन्दोलनमा उत्रियो । त्यस क्रममा धरान उमपहानगर गेटै भत्काउने प्रयास भए ।

‘धराने एक होऔं’, ‘धरान खानेपानी व्यवस्थापन बोर्डको सर्तअनुसारको खानेपानी खोइ ?’, ‘जारको पानीले नुहाउन सक्दैनौं’, ‘जिम्मेवारी वहन गर’लगायत नाराबाजीसँगै गेटै उखेल्ने भीड उचालियो ।

आन्दोलनका क्रममा कतिपय कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि भौतिक आन्दोलनसमेत भए । तर, आन्दोलनकै भरले धरानले दिगो रूपमा खानेपानी पाएन । आन्दोलन चुलिँदै गयो ।

खानेपानी संस्थान बोर्डका कर्मचारीमाथि ‘कामै नगरेको’ आरोप लगाइए । यही आन्दोलनको नेतृत्व र अगुवाइ गर्ने पात्र थिए, हर्कराज राई (हर्क साम्पाङ) । जो आज धरान उपमहानगर प्रमुख छन् ।

विगतमा खानेपानी समस्या विषयमा खरो प्रश्न उठाउँदै आएका नगरप्रमुख साम्पाङले विगतका अभियान सञ्चालन नगरे पनि ‘खानेपानी समस्या समाधान निम्ति खोलाखोल्सी धाउँदै’ छन् । उनको श्रमदान पकुवा र निसाने खोलासम्म पुगिसक्यो ।

बर्खायाममा कहिलेकाहीँ पाइप बगाउँदा धराने जनताले पर्याप्त खानेपानी पाउँदैनन् । केही दिनअघि निरन्तर वर्षाका कारण बाढीले पाइप बगायो । झन्डै दुई सातासम्म पानी नै आएन ।

जारको पानीमै निर्भर धरानमा प्रमुख साम्पाङले ‘सप्तकोसीको पानी खुवाउने’ सपना देखेका छन् । ‘पानी मुद्दा’ नै उनलाई चुनाव जित्न सहज बनायो । साम्पाङले ‘जसरी पनि धरानमा खानेपानी खुवाएरै छाड्ने’ सपना देखेका उनलाई धरानेले स्वतन्त्रबाट निर्वाचित गराए ।

‘विद्रोही’ छवि बनाएका साम्पाङले केही समयअघि श्रमदान क्रममा भनेका थिए, ‘खोल्साखोल्सी कोट्याएर धरानमा खानेपानी समस्या समाधान हुँदैन । तत्कालको समस्या समाधानका निम्ति यो काम गरिएको हो । दीर्घकालीन समाधानका निम्ति सप्तकोसीबाटै पानी ल्याउनुपर्छ ।’
०००००००००००
अहिले धरानमा सर्दु, खर्दु, तामाखाम जलाधार क्षेत्रका पानी वितरण हुँदै आएको छ । केही दिनअघि सप्तकोसीबाट धरानमा खानेपानी ल्याउन विज्ञ टोली आएको थियो । खानेपानी मन्त्रालयअन्तर्गत नियुक्त परामर्शदाता तथा विज्ञ टोलीले अनुगमन ग¥यो ।

टोलीले प्रमुख साम्पाङ र खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलसँग परार्मशसमेत ग¥यो । धरानमा सप्तकोसीको पानी धरान ल्याउने’bout अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने तयारीमा टोली लागेको छ ।

सुरुमा ‘एडीबीको आयोजना र खानेपानी संस्थान बोर्ड गाभ्न हुँदैन’ भनेर आन्दोलन चर्काउने साम्पाङ नगरप्रमुख भएपछि ‘एडीबी र खानेपानी संस्थान बोर्ड गाभेर’ नेतृत्व लिइरहेका छन् । अध्यक्षसमेत उनी नै छन् ।

धरानवासीले पानी नपाउँदा चोकचोक, गल्लीगल्लीमा एक्लै भए पनि माइक बोकेर आन्दोलन अगुवाइ गर्ने साम्पाङ नगरप्रमुख भएपश्चात् खानेपानी समस्या समाधान गर्न विभिन्न विज्ञसँग परामर्श गरिरहेका छन् ।

आन्दोलनताका खानेपानी समस्याकै विषयमा धरान उपमहानगर गेटमा प्रदर्शन क्रममा हर्क जनप्रतिनिधिलाई प्रश्न गर्थे, ‘खानेपानीमा किन समस्या भयो ? बाहिर आएर जवाफ देऊ ।’

तर, उनीमाथि स्थानीय सत्ता प्रहरी बल प्रयोग गथ्र्यो । कहिलेकाहीँ पक्राउ पनि पर्थे । एकपटक खानेपानी संस्थानका कर्मचारीलाई लिएर पानीको मुहान अनुगमन गर्न गएको समय उनलाई प्रहरीले ‘पाइप तोडफोड गरेको’ आरोपमा पक्राउ ग¥यो ।

त्यसो त, धरानमा खानेपानी नआएको अवस्थामा तत्कालै उनै हर्कलाई फोन आउँथ्यो । आफूलाई आएको समस्या बुझेर तत्कालै नेतृत्व गरिहाल्थे, उनी । कहिले खानेपानी बोर्ड प्रमुखलाई फोन गर्थे त कहिले उपमहानगर कर्मचारीलाई । फोनमा गरेको कुराकानी उनको फेसबुकबाट लाइभ हुन्थ्यो ।

धरानमा अहिले दैनिक ३ करोड लिटर खानेपानी आवश्यक पर्ने खानेपानी बोर्डले जनाएको छ । बोर्डका अनुसार वर्खायाममा खानेपानी पर्याप्त हुन्छ । बेलाबेला संरचना बिग्रिए मात्रै समस्या हुने बताउँदै आएको बोर्ड अहिले दैनिक पर्याप्त खानेपानी वितरण गर्दै आएको दाबी गर्छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *