सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

डिसी नेपाल
३ असोज २०७९ १५:१०

बैतडी। सरकारले दसैँ, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ। यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा अन्यौल देखिएको छ।

सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनिए पनि सुदूरपश्चिमका कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्रटेडिङग कर्पाेरेसन धनगढीप्रदेश कार्यालयका सहायक रामचन्द्र जोशीले जानकारी दिए। उनले भने,“ सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन्, परिपत्र नआउँदा कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने टुङ्गो लागेको छैन्। माथिको परिपत्र पर्खिराखेका छौँ।” सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि परिपत्र नआएकाले परिपत्रबिना सञ्चालन गर्न नसकिने जनाइएको छ।

परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने सहायक जोशीको भनाइ थियो। विगतका वर्षमा दशैँ, तिहार, छठसहितका चाडपर्वलाई लक्ष्य गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो। चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ।

कर्पोरेसनले विगतका वर्षमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैँ, तिहार तथा छठलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिएको थियो। यस्ता पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी,नून चामलका साथै अन्य खाद्य सामग्री किन्न पाइन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *