१६५० रुपैयाँको खाना खाएर ३ लाख ८० हजार टिप्स दिए, २ महिनापछि फिर्ता मागेपछि…

डिसी नेपाल
४ असोज २०७९ १४:५०

काठमाडौं । ग्राहकले रेष्टुरेन्टमा १३ डलर (१६५० रुपैयाँ) को खाना खाएपछि उदारता देखाउँदै महिला वेटरलाई ३ हजार डलर (३ लाख ८० हजार रुपैयाँ) टिप्स दिए । यो घटनाले निकै चर्चा पायो । तर, अहिले कथा फेरिएको छ ।

वास्तवमा, टिप्स दिएको केही महिनापछि ग्राहकले आफ्नो मन परिवर्तन गरे र रेस्टुरेन्टबाट पैसा फिर्ता लिनको लागि चार्ज ब्याक क्लेम दायर गरे। तर, रेस्टुरेन्टले पैसा फिर्ता माग्ने ग्राहकविरुद्ध नै मुद्दा दायर गरेको छ ।

द मिररका अनुसार मारियाना ल्याम्बर्ट अमेरिकाको पेन्सिल्भेनियास्थित अल्फ्रेडो क्याफेमा वेटर छिन् । करिब तीन महिनाअघि उनको सिफ्टको क्रममा एक ग्राहकले उनलाई ३ हजार डलर टिप्स दिएका थिए । ग्राहकले १३ डलरको खाना खाएका थिए ।

एरिक स्मिथ नामका यी व्यक्तिले त्यसपछि भनेका थिए कि उनी अनलाइन अभियान ‘टिप्स फर जीसस’बाट धेरै प्रभावित छन्। त्यही भएर उनले यो निर्णय गरेका हुन् । जब मारियानाले यति ठूलो टिप्स पाइन्, उनी आफैंले पत्याउन सकिनन्। उनी पनि एकपटक छक्क परिन् ।

तर, गत महिना स्मिथले रेस्टुरेन्टलाई पत्र पठाएर टिप्समा दिएको रकम फिर्ता गर्न चाहेको बताए । उनले क्रेडिट कार्डको चार्ज ब्याक नियम अन्तर्गत फिर्ताको दाबी दायर गरे।

यसपछि रेस्टुरेन्टले स्मिथसँग फेसबुकमा कुरा गरी यसबारे निष्कर्ष निकाल्ने प्रयास गरेको थियो तर त्यसले काम गरेन । रेस्टुरेन्टले हालै यस विषयमा स्मिथलाई प्रतिक्रिया दिन बन्द गरेको छ। साथै, स्मिथ विरुद्ध मुद्दा पनि दायर गरिएको छ ताकि मुद्दाको फैसला अदालतमा नै होस्।

यस विषयमा रेष्टुरेन्टका म्यानेजर ज्याकरी ज्याकबसनको बयान पनि आएको छ, उनी निकै निराश देखिएका छन् । उनले भने, ‘हामीलाई साँच्चै कसैले राम्रो काम गर्न खोजेको छ भन्ने लागेको थियो तर अहिले तीन महिनापछि उनले यस्तो काम गरे ।’

यस मामिलामा मजिस्ट्रेट अदालतमा मुद्दा दायर गरिएको छ र रेस्टुरेन्टको तर्फबाट भनिएको छ कि त्यतिबेला एरिकले आफैंले यो पैसा टिपको रूपमा दिन चाहेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *