बुटवलको बस पार्कमा यात्रु सहायता कक्ष स्थापना

डिसी नेपाल
६ असोज २०७९ २३:१६

रुपन्देही । बुटवलको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दसैँ तिहारलगायत चाडपर्वलाई ध्यानमा राखेर बुटवल उपमहानगरपालिकाले बुटवलस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

चाडपर्वको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्य सम्बन्धि समस्या हुन सक्ने भएकाले सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य जाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। उनका अनुसार बसपार्कमा उपमहानगरपालिकाले स्वास्थ्य, यात्रु सहायता र सरसफाइसम्बन्धि युनिट परिचालन गरेको छ । “हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको सुरुवात गरेका छौँ”, उनले भने, “‘यी तीन युनिट चाडपर्वभर निरन्तर बसपार्कमा रहनेछन् र आवश्यक समन्वय, सहकार्यको काम गर्नेछन् ।”

उनले चाडपर्वमा यात्रुहरुको भीडभाड बढी हुने र बसपार्कभित्र फोहर बढ्ने भएकाले नियमित रुपमा औषधि छर्ने कामलाई पनि निरन्तरअघि बढाएको बताए । कोभिड–१९, डेङ्गु र अन्य श्वासप्रस्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान सातबजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । उनले बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकालाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *