क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

डिसी नेपाल
१० असोज २०७९ २२:२५
12
Shares

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घ–संस्थाहरुले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए ।

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ थियो । राजदूत पौडेलले मलेसियामा रहेका नेपाली सङ्घसंस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली सङ्घसंस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताए ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । मलेसियामा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट मात्र विप्रेषण पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गरिने उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *