एकताको सन्देश दिएर ओहायोमा नेपालीहरुले मनाए दशैं

डिसी नेपाल
१६ असोज २०७९ ९:४९

ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा भेला भएका सयौं नेपालीहरुले आपसका शुभकामना आदान प्रदान गर्दै नेपालीहरुको महान चाड दशैं मनाएका छन् ।

सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) को आयोजनामा सम्पन्न दशैं विशेष कार्यक्रममा कोलम्बस र आसपास शहरमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपाली र नेपालीभाषीहरुको सहभागिता थियो ।

सानासाना नानीहरुदेखि प्रौढसम्मका सहभागीहरुले आआफ्नो नृत्य तथा अन्य प्रस्तुति पस्केर आपसमा महान चाड दशैंको शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा कोनाका अध्यक्ष डा. दामोदर पौडेलले महान चाड दशैंले प्रवासमा पनि सम्पूर्ण नेपाली तथा नेपालीभाषी समुदायमा एकता र भातृत्वको सन्देश दिएकाले आफूहरु एकजुट भएर भेला हुन सकेको बताएका थिए ।

उनले भने, ‘हामी जहाँ बसे पनि आफ्नो हैसियताले भ्याएसम्म भव्यरुपले मनाएर हामीले आफ्नो पहिचानलाई विश्वव्यापीकरण गरिरहेका छौं ।’ कार्यक्रममा भएको भब्य उपस्थितिले प्रवासमा नेपाली जातिको एकताको सन्देश दिएको भन्ने एकताबद्ध भएर समुदायमा सक्रिय रहन सबैलाई आग्रह गरे ।

शुभकामना मन्तब्य व्यक्त गदै मायमी विश्वविद्यालय, ओहायोका प्राध्यापक डा.जनार्दन सुवेदीले सत्कर्ममा लाग्ने प्रेरणा मिलोस् भनेका थिए ।ओहायोको रेनल्ड्सवर्ग शहरका निर्वाचित जनप्रतिनिधि काउन्सिलम्यान भुवन प्याकुरेलले उपस्थित नेपालीजनमा उत्साहको संचार गराउंदै रेनल्ड्सवर्ग सिटी काउन्सिलले नै आगामी तिहारको कार्यक्रम औपचारिकरुपले मनाउने निर्णय गरेको र शहरले नै दीपावली विशेष कार्यक्रम तय गरेर समुदायका सबैलाई निम्तो गरेको जानकारी दिएका थिए ।

उनका अनुसार, सिटी काउन्सिलले दीपावलीका उपलक्ष्यमा दिन नै तोकेर कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एन्टाकी अध्यक्ष मृदुला गुप्ताले पनि शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा उपस्थित नेपालीहरुले एकआपसका शुभकामना आदान प्रदान गर्दै नेपाली गीतहरु बजाएर नृत्य गरेर रमाइलो गरेका थिए ।

सहभागीहरुका लागि कोनाले स्न्याक्स र डिनरको व्यबस्था मिलाएको थियो । दशैंको शुभकामना आदान प्रदानपछि सोही समारोहमा कोनाले आफ्नो साधारणसभा पनि सम्पन्न गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *