अमेरिकामा ‘कलिवुड नाइट’ सफलतापूर्वक सम्पन्न, सहयोगीहरुप्रति आयोजकको आभार

डिसी नेपाल
२१ असोज २०७९ १६:३२

भर्जिनिया । अमेरिकामा नेपाली लोक नृत्यको प्रवद्र्धन गर्दै आइरहेको केसी डान्स सेन्टरले सन् २०१७ देखि नियमित रुपमा प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को चौथो श्रृङ्खला गत सेप्टेम्बर २४, २०२२ का दिन भर्जिनियाको मनाससमा समुदायकै साथ र सहयोगमा सम्पन भएको छ ।

कार्यक्रमलाई सफलता सहित सम्पन्न गर्ने सम्पूर्ण कलाकार, स्वयंसेवक तथा विज्ञापन दाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यसमेत अक्टुबर १, २०२२ मा सम्पन्न भएको छ । कार्यक्रम सम्पन्न भएसँगै यसलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति केसी डान्स सेन्टरले आभार समेत व्यक्त गरेको छ ।

अमेरिकामा नृत्य मार्फत नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै फैलाउने अनि यहाँ हुर्कँदै गरेका पुस्तामा हस्तान्तरण गर्ने मूल उद्देश्यका साथ स्थापित केसी डान्स सेन्टरले वर्षमा एकदिन चाडवाडको अवसर पारेर तिनै हुर्कँदै गरेका पुस्तालाई हौसला प्रदान गर्न अनि समुदायलाई विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हरेक वर्ष ‘कलिवुड नाइट’ सञ्चालन गर्दै आइरहेको छ ।

यस वर्षको कार्यक्रममा साना बालबालिहरूदेखि प्रौढसम्म, अमेरिकाका विभिन्न सहरदेखि नेपालसम्मका कलाकारहरूको प्रस्तुती रहेको सेन्टरले जनाएको छ । आफ्नो अति व्यस्त समय निकालेर करिब ४÷५ महिना देखि अभ्यास कार्यमा उपस्थित भई आफ्नो क्षमता, सीप र कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकारहरुलाई सेन्टरले आभार व्यक्त गरेको छ ।

‘विशेष गरि डिसी मेट्रो क्षेत्रका सम्पूर्ण नेपाली संघसंस्था तथा समुदायको साथ र सहयोग बिना यो कार्यक्रम सम्भव थिएन’ सेन्टरका संस्थापक, संचालक र नृत्य निर्देशक नविन केसी र लुना श्रेष्ठले एक वक्तव्य जारी गर्दै भनेका छन् ‘हरेक वर्ष कार्यक्रममा उपस्थित भएर, कलिवुड नाइटको कार्यक्रम हुने दिनमा अन्य कार्यक्रमहरु नराखिदिएर, र कार्यक्रम पश्चात अर्को कार्यक्रमका लागि रचनात्मक सुझाव उपलब्ध गराएर पु¥याउनु भएको सहयोग प्रति हामी हार्दिक आभार सहित हृदय देखि धन्यवाद अर्पण गर्दछौँ ।’

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको प्रमुख आतिथ्य तथा अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको विशेष आतिथ्यमा अक्टुबर १, २०२२ का दिन कार्यक्रमलाई सहयोग गर्नेे कलाकार, स्वयंसेवक, स्पोन्सर, प्राविधक, मिडिया लगायतलाई धन्यबाद ज्ञापन र प्रमाणपत्र वितरणको कार्यक्रम गरिएको थियो । कलिवुड नाइटबाट खर्च कटाई बाँकी हुन आएको बचत रकमलाई सामाजिक सेवाका क्षेत्रमा लगानी गरिने पनि केसी डान्स सेन्टरले जनाएको छ ।

सेन्टरका अनुसार यस वर्ष डिसी महानगर क्षेत्रमा रहेका दुईवटा सँस्थाहरू – नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र, मेरिलैण्ड (एनइसीसी) र नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी) लाई जनही चारसय डलर सहयोग गरिएको छ । समुदायको सहयोगमा सम्पन्न कार्यक्रम मार्फत उठेको रकमबाट सकेसम्म बचाई समुदायको हितका लागि नै सहयोग गर्न पाउँदा खुशी लागेको सेन्टरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *