जो निकट, उसैलाई टिकट

बलदेव महत
२२ असोज २०७९ १२:५८

चुनाव निकट आएपछि जहिले पनि टिकट पाउने विकट अभिलाषा मनमा पलाउने र टिकट पाउनको लागि सबै शक्तिलाई चलाउने अनि आफ्नो तालुमा टिकटको आलु फलाउने ध्यानमा सबै जना लागेका देखिन्छन् ।

चुनाव आउनु भनेको स्वघोषित शिर्ष नेताहरूले दुःख पाउनु हो भने जस्तो पो भएको छ । तह तहको चुनावको टिकट बाँड्दा लहलह गरी नगदे बाली भित्र्याउने शिर्षहरूको पनि कुनै कमि छैैन भन्ने सुनिन्छ ।

यस्ता गोप्य र भित्री कुुराको सुुँइको जनताले पाउने कल्पना नै गर्न परेन । जसरी हुन्छ टिकट भ्याउने र जित्नको लागि आवश्यक भोट ल्याउने कुरा बाहेक यतिखेर कुनै पनि नेताहरूको दिमागमा अरु कुनै कुरा छैन भन्ने सुुनिन्छ ।

टिकट दिनुपर्ने अन्तिम अवस्थामा विभिन्न तरिकाले अड्काउने र जुनसुकै तरिकाले भए पनि आफै वा आफ्नाका लागि पड्काउने र यसै मार्फत् आफूले चाहेको पद छड्काउने चक्करमा तलदेखि माथिसम्मका नेताहरू लागेका छन् रे भन्ने नचाहिँदा हल्लामा जनताको बिश्वास छैन । मननपर्ने र फाइदा लिन नसकिने व्यक्तिलाई टिकट दिने गल्ती भयो भने शिर्ष नेताहरुको खल्ती समेत नभरिने डर पनि छ अर्कोतिर ।

टिकटको नाम लिएर पार्टीको लागि भन्दै ठूलै मात्रामा नगद बुझ्ने काम पनि हुन्छ रे भन्ने सुनिन्छ । लिने र दिनेले प्रष्ट रूपमा नबताएसम्म कसैले पत्तो पाउने कुरो पनि आए ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक अनि प्रदेश सभामा सदस्यहरू छनौटको लागि चुनाव हुने, यसैले राष्ट्रका सबै मुख्य मुख्य पदहरु छुने, यसैको माध्यमबाट पक्ष विपक्षबाट लागेका सबैको पाप धुने र आफ्नो प्रगति देखेर बाहिर हाँसे जस्तो गरे पनि विरोधीहरू चाहिँ भित्रभित्र रुने हुनाले टिकट पाउनै पर्ने अनिवार्यता भएको हो ।

यो टिकट भन्ने वस्तुले पनि आफ्नो अस्तु नसेलाएसम्म दुःख दिने रहेछ । टिकट पाउनेलाई पनि समस्या, टिकट नपाउनेलाई पनि समस्या, टिकट दिनेलाई पनि समस्या, टिकट नदिनेलाई पनि समस्या, टिकटको लागि सिफारिस गर्नेलाई पनि समस्या, टिकटको लागि सिफारिस नगर्नेलाई पनि समस्या, टिकटको लागि पैसा खर्च गर्नेलाई पनि समस्या, टिकटको लागि सूको खर्च नगर्नेलाई पनि समस्या आदिआदि भएकोले समस्याको पोको ठानिएपनि टिकट पाउने सबैको धोको उत्तिकै देखिन्छ ।

पहिले स्थानीय तहको सिफारिसमा पर्यो । त्यसपछि जिल्लाबाट सिफारिसमा पर्नको लागि विभिन्न बाधा र अप्ठ्याराहरू तर्न पर्ने । जिल्लाको सिफारिसको चरण हुुँदैप्रदेशको खुुड्किलो पार गरेपछि केन्द्रीय नेताहरूले भार सम्झने हुनाले त्यो मारबाट बच्नको लागि कतै पनि हार नमानिकन विभिन्न धारका नेताहरू कहाँ घर दैलो गर्नै प¥यो ।

त्यसो गर्नलाई आफू मात्रै पुगेर पनि भएन । यसो देखाउन र नेताहरूको सहमति लेखाउन ठूलै दलबल लिएर जानुप¥यो । फेरि गुट उपगुट यो त्यताको त्यो उताको त्यो यताको त्यो उसको ऊ उसको त्यो यसको भन्दा भन्दै आफू कसको भन्ने नै भुलिने अवस्था हुने हो कि भन्ने जस्तो पनि हुँदो रहेछ ।

त्यसै पनि टिकट बितरण गर्ने काम घाँडो भएकोले नेताहरूले चाँडो गर्न नसक्ने भनेर सबैलाई राम्ररी थाहा भएकोमा यसपालि विभिन्न दलहरूको गठबन्धन र भावी एकताको घोषणाले टिकटका आकांक्षीहरूलाई ठूलो समस्यामा पारेको हुनाले कतिले त टिकटलाई माया मारेको पनि सुनिन्छ । टिकट वितरणको चरण विना झमेला पार गर्न सक्यो भने गठबन्धनको घोषणा गर्ने नेताहरूको निद्रा हरण नहुने र अझ अर्को शरण खोज्दै हिंड्नु नपर्ने हुन सक्छ । टिकटको वायुले सतायो भने गठबन्धनको आयु पनि चुनाव अगाडि नै समाप्त हुन बेर लाग्दैन ।

विभिन्न सोच, विभिन्न विचार, विभिन्न सिद्धान्त, विभिन्न दर्शन, विभिन्न स्वार्थ र विभिन्न शक्तिको भक्तिमा मौलाएका र टिकटको कारणले आफूहरूले गर्दै आएको राईं दाईं समाप्त हुने हो कि भन्ने डरले बौलाएका जमातले चुनावकै लागि रचेको गठबन्धन नामक नाटकको पर्दा टिकटको मुद्दा अघिसर्दा नै बन्द भएर फेरि उहि पुरानै छन्दमा फर्कने हो कि भन्ने डर पनि कायमै छ । हाम्रो गठबन्धनले कुन्नि को को तर्सेर अत्तालिएको अवस्थामा विपक्षीहरूबाट यस्ता यस्ता शब्द बर्सेर गालि आइरहेको छ भन्दै ठूलो गफ गर्नेहरूलाई टिकटले सताएको र गाह्रो पर्ला जस्तो छ भनेर आफ्ना नजिककाहरुलाई खुुसुुक्क बताएको हल्ला पनि बाहिर सुनिएको छ ।

हिजोसम्म पानी बाराबार र देखिने नै गरी हरेक ठाउँमा मारामार गरेका दलहरूले देश र जनताका समस्याहरू हल गर्न गठबन्धन गरेको भने पनि एक अर्कालाई छल गरेर त्यसको मीठो फल चाख्ने उद्देश्य नै हो भन्ने सबैले बुझेकै विषय हो । घिउ बेच्ने र तरवार बेच्नेहरूको कथा पुरानो भएकोले अब इमान, धर्म, सिद्धान्त, नैतिकता, आदर्श आदि सबै बेचेर प्रशस्त नाफा कमाइ सकेका, मुख्य मुख्य पद जति सबैमा पुगेर मजाले रमाई सकेका, अकूत सम्पत्ति आर्जन गरेर निकै पुस्तासम्मको लागि नवधनाढ्यको सूचीमा आफ्नो खुट्टा जमाई सकेका र दुई चार पुस्तासम्म पनि सुल्झिन नसक्ने समस्याहरूको पोको जनतालाई थमाई सकेका स्वघोषित दिग्गजहरूले टिकटको माध्यमबाट फेरिपनि सबैलाई मनोरञ्जन दिने चाहिँ पक्का नै छ ।

कुनै पनि चिजको गहिराइमा नपुगिकन मोती टिप्ने सपनाको कुरा गर्दा धोती फुस्कने बानी परेका नेताहरूलाई अर्ती उपदेशले पनि खासै काम गरेको देखिंदैन । जुनबेला जे मन लाग्यो, जे गर्ने इच्छा जाग्यो सोच विचारै नगरी आँखा चिम्लेर त्यसैको पछि पछि भाग्यो र जस्तोसुकै गल्ती भए पनि लाजै नमानिकन दाँत देखाउँदै जनतासित भोट माग्यो । अहिलेको गठबन्धन पनि त्यस्तै मध्येको एउटा निर्णय हुनसक्छ र यसले गठबन्धनको भविष्यलाई नराम्रोसँग छुनसक्छ ।

टिकट दिनेको लागि सबै भन्दा पहिला त आफ्नै नाम पक्का गर्न अनेक छक्का पन्जा गरेर गतिलो धक्का नदिई हुँदैन । बाहिर जति नै गफ चुटे पनि र अर्काको दिमाग जति नै भुटे पनि टिकट त त्याग्न सक्ने कुरै भएन । उसैपनि नेताहरुको लागि त्याग भन्ने बिषय अरुलाइ अर्ति उपदेश दिने र बुुद्धिमरुहरुको ताली लिने कुुरा मात्रै हो । अरुलाइ त्याग गर्न पर्छ भन्ने र आपूूm चाहिँ सानो खाले त्याग समेत नगरि नोटमात्रै गन्ने गरेको चलन पहिले देखि अहिलेसम्म यथाबत नै छ ।

आफूले टिकट पाउने निधो भएपछि आफ्नो श्रीमती, गर्लफेन्ड, आफ्नो छोरा, आफ्नो छोरी, बुहारी, ज्वाईं, साला, साली, सासु, ससुरा, सम्धि,सम्धिनी,मित, भाइ, भतिजा, भान्जा, भान्जी, दाजुभाइ, छिमेकी, गाउँले आदिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि पार्टीमा राम्रो पकड भएका, नाम चलेका, चुनाव जित्न सक्ने, आफ्ना नजिकका सहयोगीहरू पर्छन् । त्यसपछि आफ्नै पार्टीका भए पनि विरोध गरेर अप्ठ्यारोमा पार्न र मौका प¥यो भने कैंची मार्न सक्नेहरू पर्छन् ।

लोकलाजबाट बच्न पनि एक दुई जना इमानदार र आदर्शवादीहरूलाई पनि हेर्नै पर्यो । विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउनको लागि अलि अलि विचार गर्नै प¥यो । विदेशी दूतावासबाट सिफारिस भएकाहरूलाई त छुटाउनै भएन । उत्तर दक्षिणको आदेश रूपी अनुरोधलाई लत्याउनु भनेको आफ्नै लागि दुर्दशा हत्याउनु जस्तै भएकोले जनताले पत्याउनु पनि प¥यो । आफ्नो पिता माता भन्दा पनि नजिकको भित्री सम्बन्ध भएका दाताहरूको खाता अनुसार टिकट उपलब्ध नगराए आफ्नो उठिबास लाग्ने सम्भावना हुने हुनाले त्यतातिर त विशेष ध्यान पुर्याउनै पर्यो ।

जिल्लाबाट आउने सिफारिसलाई सन्तुलन मिलाउने र टिकट दिलाउने काम नगरे समस्यामा परिने अनि भविष्यमा टिकट दिने हैसियतबाट झरिने प्रबल सम्भावना रहन्छ । यति गरी सकेर बचे खुचेको टिकट गठबन्धन तिर फाल्ने, बागी भएर दुःख दिनेहरूको मुख टाल्ने, साम दाम दण्ड भेदको सिद्धान्त अनुसार कदम चाल्ने, गडबड होला जस्तो भयो भने गठबन्धन तोडिन सक्ने धम्कीको रांको बाल्ने र विरोध गर्न सक्नेहरूलाई किन्ने काम पनि भित्र भित्र थाल्ने गरेपछि कसो पार नपाइएला र !

टिकट पाउने सम्भावना भएका तर ग्यारेण्टी नभएकाहरूले ठाउँ ठाउँमा धाउने काम गर्दा गर्दा दुई चार जोर जुत्ता फटाइ सकेको भए पनि अर्को छट्टुले भित्र भित्र आफ्नो नाम कटाई सकेको हल्लाले भोक, निद्रा गुमाइ सकेको हुन्छ । आज नाम छ भन्छन् भोलि नाम छैन भन्छन् । फेरि कुद्दै भेट्न र मुख देखाउन गयो । गतिलो आस्वासन प्राप्त हुन्छ ।

त्यही उपलक्ष्यमा बेलुका जमेर धोक्यो, त्यही सुरमा आफू जस्तो योग्य कोही छैन भनेर खोक्यो र टिकट पाएर चुनाव जितेपछि यो गर्छु त्यो गर्छु भनेर जिम्मेवारी पनि बोक्यो फेरि भोलिपल्ट तपाईंलाई त फलानाले रोक्यो, हुँदै हुँदैन भनेर टेबुल नै ठोक्यो र तपाईंको बदला अर्कैलाई पो तोक्यो भन्ने खबर पाएपछि फेरि जुत्ता खियाउने र टिकट दाताहरूको घरघरमा चियाउने काम गर्दैमा दिन जान्छ ।

टिकटको अन्तिम घोषणा नभएसम्म र त्यसभित्र आफ्नो नाम नगएसम्म भोकतिर्खा माया मारेर नधाए अहिलेसम्मको मेहनतबाट हारेर र पछिसम्मलाई अलपत्र पारेर नछोड्लान भन्न सकिन्न । राजनीतिका जति आदर्श छाँटे पनि र जनतालाई दिनदिनै ढाँटे पनि खास कुरो भनेको टिकट नै रहेछ । त्यसैबाट वन्चित भइयो भने सधैंको लागि माटो मुनी गईयो भनेर जाने हुन्छ ।

अहिले त जिल्लाहरूबाट सिफारिस भएकाहरू पनि अन्तिम लिस्टमा आफ्नो नाम पार्न र यसपालि जसरी भए पनि बाजि मार्न राजधानी उत्रिएका छन् । टिकट दाताहरू कहाँ थुप्रिने र सकेसम्म झुकेर नमस्कारमा कुप्रिने गरेर यिनीहरूले नेताहरूलाई हैरान पारी सके । भेट नदिनेहरूलाई थर्काउने र यसैलाई ठूलो मुद्दा बनाएर चर्काउने समेत गर्न सक्ने हुनाले नेताहरूले एकदिन भए पनि मुख देखाउन करै लागेको छ । यसरी अहिले सबैको ध्यान टिकटमा मात्रै भएकोले त्यसलाई पाउन ज्यान छाडेर सबैजना लागि परेका छन् ।

जसले जेसुुकै गफ दिएपनि,जसले जसबाट टिकट पाउने आस्वासन लिएपनि,जसले ढुुक्क भएर अरुले थाहा पाउलान् भनेर मुुख सिएपनि र जसले टिकट पाएपछि यसोयसो गर्छुु भनेर मनमनै मिठो सर्बत पिएपनि आर्थिक कारण,चाकडिको कारण,भित्रियाको कारण,नाता सम्बन्धको कारण आदिले गर्दा शिर्षहरुको जो जो निकट छ उसैले टिकट पाउने पक्का छ रे भन्ने बजारे गफमा जनताको बिश्वास छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *