सुदूरपश्चिमका यी क्षेत्रमा हुँदैछ रोचक प्रतिस्पर्धा

डिसी नेपाल
२४ असोज २०७९ १३:०८

धनगढी। आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक सय ४३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये केही क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

कैलाली-५ मा चारजनाको रोचक प्रतिस्पर्धा

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली-५ मा प्रतिनिधिसभाका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा नेपाली कांग्रेसका पूर्व नेता तथा संविधानसभा सदस्य पुष्कर नाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनीसँगै एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारदमुनि राना, कांग्रेसबाट निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त र नागरिक उन्मुक्ति पार्टिबाट लक्ष्मण थारुले उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली-५ मा यी चार नेताबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ। लक्ष्मण थारु अघिल्लो निर्वाचनमा जेलबाटै निर्वाचन लड्दासमेत ६ हजार बढी मत ल्याएका थिए। यसपटक उनी जनतासँग प्रत्यक्ष रूपमा भेटघाट गरिरहेका छन्। यसपटक उनले अघिल्लो निर्वाचको भन्दा भोट बढाउने देखिन्छ।

नेपाली कांग्रेसले कारवाही गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझालाई पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ। उनी २०७० को संविधानसभा निर्वाचनमा कैलाली-६ (हालको ५ नम्बर क्षेत्र) बाट निर्वाचित भएका थिए।

२०७४ को निर्वाचनमा कैलाली-५ बाटै निर्वाचित भएका नारदमुनि रानाले यसपटक पनि उम्मेदवारी दर्ता गराएका छन्। गत निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गर्दै उनी विजयी भएका थिए।

चौधरी समुदायको भोटमा पकड जमाउँदै आएका रानालाई यसपटक पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ। नारदमुनि रानालाई जसपाले पनि सघाउने छ।

सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बन्दै कांग्रेस नेता डिल्लीराज पन्तले पनि कैलाली-५ बाट मनोनयन दर्ता गराएका छन्। २०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको बलियो तालमेलका बीच पनि कांग्रेस एक्लै चुनावमा होमिँदा प्रदेश सभा निर्वाचनमा विजयी भएका पन्तलाई यसपटक पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

तर कांग्रेसकै पूर्व नेता पुष्करनाथ ओझाको उम्मेदवारी र नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण थारुको समेत उम्मेदवारी पर्दा यसपटक त्यसले कसलाई फाइदा पुर्‍याउँछ भन्न सकिने अवस्था छैन। ओझाले कांग्रेका भोट काट्ने अनुमान छ भने लक्ष्मण थारुले राना चौधरीका भोट कटौती गर्ने अनुमान गर्न सकिन्छ।

रेशम दम्पती नै संघीय उम्मेदवार

नागरिक उन्मुक्ति पार्टीबाट निवर्तमान संघीय सांसद रेशम चौधरीका श्रीमान श्रीमती नै संघीय सांसदको उम्मेदवार बनेका छन्। रेशमले बर्दिया १ मा र उनकी श्रीमती रञ्जना श्रेष्ठ कैलाली १ मा संघीय सांसदको उम्मेदवारी दर्ता गराएका छन्।

रन्जनाले आफै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । तर रेशमले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनले जग्गुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४ को निर्वाचनमा रेशम कैलाली १ बाट भारी मतले संघीय सांसदमा विजयी बनेका थिए। त्यतिखेर पनि रेशमले वारेसनामामार्फत नै उम्मेदवारी दर्ता गराएका हुन्।

२०७२ को टीकापुर घटनामा संलग्न रहेका आरोपमा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि रेशम हाल डिल्लीबजार कारागारमा छन्। जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध उनी सर्वोच्चमा गएपछि अहिले सर्वोच्चमा मुद्दा विचाराधीन छ।

दार्चुलामा बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

दार्चुलामा बहालवाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रूपमा उद्योग वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्।

एमालेबाट गणेशसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन्। आइतबार दुवैजनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका छन्। बडू निर्वतमान मन्त्री हुन् भने ठगुन्न पूर्वमन्त्री हुन्।

बडू २०५६ को निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए। त्यसपछि उनी समानुपातिक सूचीमा रहेर सांसद बनेका छन्। यसपटक उनले फेरि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन्।

ठगुन्ना २०६४ मा पराजित हुँदा २०७० र २०७४ को निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए। उनी केपी ओलीको सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत बनेका थिए।

आगामी निर्वाचका लागि दार्चुलाबाट आठ राजनीतिक दलले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभातर्फ सात राजनीतिक दल र दुईजना स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन्।

कैलाली-४ मा ह्याबिवेट नेताको उम्मेदवारी

कैलाली-४ दुई ह्याविवेट नेताको उम्मेदवारी परेको छ। कैलाली–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् । एमालेबाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन्।

बलायर २०७० संविधानसभा निर्वाचनमा डोटीबाट निर्वाचित भएर संघीय भौतिकमन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा भने उनी पराजित भएका थिए। हाल उनी नेपाली कांग्रेसका प्रदेश सभापति रहेका छन्। सत्ता गठन्धनबाट डोटीमा एकीकृत समाजवादीसका प्रेम आले उम्मेदवार बन्ने भएपछि बलायर कैलाली ४ बाट संघमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

एमालेका सचिव लेखराज भट्ट २०७०को निर्वाचनमा कांग्रेस नेता दीर्घ भाटसँग कैलाली-४ बाटै पराजित भएका थिए । २०६४ र २०७४ निर्वाचनमा ४ नम्बरबाटै उनी निर्वाचनमा विजयी भएका थिए।

लेखराज भट्ट तत्कालीन नेकपाका तर्फबाट निर्वाचित भएका थिए। नेकपा विभाजनपछि उनी एमालेमा रहे र हाल नेकपा एमालेका केन्द्रीय सचिव छन्। उनी पटक-पटक मन्त्री भइसकेका छन्।

शेरबहादुर देउवा र कर्ण मल्लको प्रतिस्पर्धा

कांग्रेसबाट लगातार ६ पटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले साताैंपटकका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन्।

विगतमा सहज जीत निकाल्दै केन्द्रमा धाउने गरेका देउवालाई यसपटकको निर्वाचनमा उनले नै राजनीतिमा ल्याएका कांग्रेस बिपीका उपसभापति कर्ण मल्ल चुनौती बन्न सक्ने आंकलन गरिएको छ।

देउवालाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सघाउँदा कर्ण मल्ललाई एमालेले समर्थन दिएको छ। कर्ण मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति पनि हुन्। २०७४ को निर्वाचनमा उनले कांग्रेसबाटै डडेल्धुराबाट प्रदेश सभा निर्वाचन जीतेका थिए।

यसका साथै प्रधानमन्त्री देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका गुल्मीका युवा सागर ढकालले पनि डडेल्धुराबाटै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

आफ्नै सहयोगीसँग भानुभक्त जोशीको प्रतिस्पर्धा

एमालेबाट तीनपटक चुनाव लडेका भानुभक्त जोशी यसपटक एमालेबाटै अलग्गिएर गएको एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। उनले यसअघि तीनपटक बझाङमा एमालेबाट चुनाव प्रतिस्पर्धा गरेका थिए।

भानुभक्त जोशी एकीकृत समाजवादीबाट चुनाव लड्दा एमालेबाट भने युवा नेता ऐन महरले मौका पाएका छन्। विद्यार्थीबाट राजनीतिमा आएका ऐन महर पहिलाेपटक आमनिर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

ऐन महर जोशीले उत्पादन गरेका कार्यकर्ता हुन्। २०६४ को निर्वाचनमा बझाङबाट विजयी भएपछि भानुभक्त जोशीले ऐन महरलाई सहयोगीका रूपमा नियुक्त गरेका थिए। दुवै नेता एउटै पदका लागि प्रतिस्पर्धामा उत्रेपछि बझाङमा राजनीतिक गुरु र चेलाबीच प्रतिष्पर्धा हुने भएको छ।

भानु जोशी २०४८ को निर्वाचनमा पहिलोपटक एमालेबाट विजयी भएका थिए। त्यसपछि २०५४ को निर्वाचनमा उनी पराजित भए। २०६४ को निर्वाचनमा उनले फेरि एमालेबाटै टिकट पाए। सो निर्वाचनमा देशभरबाट एमालेका दिग्गज नेता पराजय हुँदा जोशी बझाङबाट निर्वाचित भएका थिए।

जोशी सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन्। ऐन महर भने आमनिर्वाचनमा पहिलोपटक चुनाव लड्दै छन्। एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष भइसकेका ऐन महरलाई बझाङमा राप्रपाले सहयोग गरेको छ।

प्रदेशतर्फ बझाङ प्रदेशसभा क मा एमालेबाट छविलाल ओखेडा तथा गठबन्धनबाट कांग्रेसका पृथ्बीबहादुर सिंह र प्रदेश ख तर्फ एमालेका एलबी रावल र गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीबीच प्रतिस्पर्धा हुनेछ।

आइतबार भएको उम्मेदवारी दर्ताअनुसार डोडीमा ६, बैतडीमा १२, बाजुरामा ५, दार्चुलामा ९, कञ्चनपुरमा ३१, बझाङमा ९, अछाममा १२, कैलालीमा ४९ र डडेल्धुरामा १० जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *