पहिरो निरिक्षण गर्न जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

डिसी नेपाल
२४ असोज २०७९ २१:१०

कीर्तिपुर । अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ ।

नगरपालिका–३ स्थित देउराली, माथिल्लो मसिने, तल्लो मसिने र ढुङ्गेनीमा बढी नोक्सान भएको पालिकाकी वरिष्ठ अधिकृत भद्रा अर्यालले बताइन् “इन्द्रथान जाने सडक र कङ्काली माध्यमिक विद्यालयको आवसीय भवन परिसरमा सर्वाधिक क्षति भएको छ”, निरीक्षणपछि रासससँग कुरा गर्दै उनले भनिन् ।

निरीक्षणमा उनीसहित जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्राविधिकहरु सहभागी थिए । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले आवासीय भवन पछाडिको करिब ७५ फिट जमिन भासिँदा भवन नै जोखिममा परेको बताए । “थप क्षति हुन नदिन तत्काल घेराबारा लगाउनुपर्ने स्थिति छ”, उनले भने ।

नगरपालिका–१३ र १५ मा डेढ सयभन्दा बढी घर डुबानमा परेको पनि अर्यालले बताए । खासगरी खोला किनारका बस्तीहरुमा १७ वर्षयताकै सर्वाधिक ठूलो बाढी आएका कारण यस्तो डुबान भएको उनको भनाइ छ । पानीले घना रूखबिरुवा भएका स्थानहरुमा समेत पहिरो गएका र कतिपय पहिराको सम्भावना नभएका बस्तीमा समेत घर जोखिममा पर्ने गरी पहिरो गएको उनले बताए ।

नगरपालिकाको एक महत्पूर्ण पर्यटकीय स्थल इन्द्रथान जाने बाटोका दर्जनौँ स्थानमा पहिरो गएको र खुलाउनका लागि डोजर प्रयोग गरिएको जानकारी पनि अधिकृत अर्यालले दिए । “आजसम्म पनि सबै स्थानको पहिरो पन्छाउन सकिएको छैन । डोजरको सहायताले आवागमन खुलाउन खोजिरहेका छौँ”, उनले भने ।

बर्सातकै क्रममा देउरालीमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको थियो । नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्च एवं तत्कालीन राहतका रूपमा रु ५० हजार दिने नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । राहत र उद्धारका सबै व्यवस्थापन नगरपालिकाले मात्र गर्न नसक्ने भएकाले सङ्घीय सरकारलाई पत्राचार गरिएको पनि उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *