डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव
धादिङ। डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ। सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ। अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन्।
डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन। धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन्। निजी मेडिकलमा सिटामोल अभाव भएको छ।
धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ। सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ। सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन्।
डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ। धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment