‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा

डिसी नेपाल
२६ असोज २०७९ २१:३४

काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारीघरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ ।

कार्तिक कृष्ण तृतीयाका दिन रथयात्रा गरिने तीनवटै मूर्तिलाई पुजारीघरमा भित्र्याइएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । मूर्ति भित्र्याएसँगै यो वर्षको जात्रा सबै काम सकिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका क्रममा सोमबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए ।

जात्राका क्रममा बुधबार मूर्तिलाई पुजारी घरमा राखिन्छ । यसपछि यो जात्रा समाप्त हुन्छ । कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा कहीँ नभएको जात्रा गर्ने चलन छ । यो जात्रा हेर्न राजधानी वरिपरिका ठाउँबाट मानिसको भीड हाँडीगाउँमा लाग्ने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *