लोकतन्त्रमा गठबन्धनीय चुनाब

शंकरप्रसाद रिजाल
३१ असोज २०७९ १३:३३

प्रजातान्त्रिक पद्धतिको बिचार र व्यवस्थाले संसारमा ठूलो परिबर्तन ल्याएको तथा यो व्यवस्थामा नागरिकका हक र अधिकारको सुनिश्चित हुने भएकाले लोकतान्त्रिक व्यवस्था संसारभर उपयोगी मानिन्छ।

संसारका बहुसंख्यक देशले यसलाई आफ्नो जीवन पद्धति मान्दै आएका छन्। आफ्नो आफ्नो बिचार र शैली अनुसार विभिन्न दल खोली समस्त जनताको मत प्राप्त गरेर बिजयी भइ देशको शासन सत्ता जनचाहना अनुसार सञ्चालन गर्ने लोकतन्त्रको मर्म हो।

तर पछिल्लो समय लोकतन्त्रको नाममा हत्या, हिंसा, लुटपाट, षड्यन्त्र, जालझेल र युद्धसमेत गराउन पछि नपर्ने देशका लोकतन्त्रका हिमायतीहरु देखावटी लोकतन्त्रको घोडामा सवार छन्।

आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो। तर अहिले चुनावलाई जनता झुक्याउने माध्यम बनाएर सत्तामा पुग्ने अनि आफ्नो स्वार्थ सिद्धमा केन्द्रित हुँदा आम निर्वाचनप्रति जनताको रुची घटन थालेको छ।

नेपालमा लोकतन्त्रको स्थापना भएको ७२ वर्ष भयो। बीचका केही समय अन्य शासन व्यवस्था पनि नआएका होइनन्। बेला बेलामा लोकतन्त्रलाई मास्ने काम पनि भएको हो। तर मुलुकमा लोकतन्त्र आवश्यक छ भन्ने कुरालाई सबैले स्वीकार गरेको देखिन्छ।

नेपालमा चुनाव हुन थालेको पनि २५ औं पटक भयो। लोकतन्त्रको स्थापनापछि मुलुकले विकासको काँचुली फेर्छ भन्ने आम जनताको बुझाइ विपरित अहिले पनि मुलुक जहाँको त्यहीँ छ।

विकास निर्माण गर्नै नपर्ने र केही ठाउँमा विकास निर्माण भएपनि त्यसलाई आन्दोलनका नाममा ध्वस्त पर्ने कारणबाट आज मुलुक बिसौं वर्ष पछाडि पर्यो।

राजनीतिक संस्कारयुक्त परिवारमा जन्मिएका र राम्रो संस्कार पाएका नेताहरु पनि राजनीतिमा प्रवेश गरिसकेपछि किन यसरी स्खलित भएका होलान्? सत्तालाई कमाइखाने धन्धा बनाउने र त्यसका लागि जे पनि गर्न पछि नपर्ने नेताका कारण आज इमान,जमान भएका निष्ठावान र त्यागी नेता राजनीतिबाट ओझेल पर्न थाले।

त्यस्ता राजनेताहरु यो राजनीतिको मैदानमा टिक्नै नसक्ने अवस्थाको सृजना गरिएको छ। चुनावमा करोडौं खर्च गर्नुपर्ने र चुनाव जितेपछि खर्च गरेको पैसा उपता गर्न भ्रष्टाचार गर्नै पर्ने परिपाटीका कारण आज इमान्दार राजनीतिज्ञ राजनीतिबाट टाढा पुगेका छन्।

जनताले यी राजनीतिक दललाई बेला बेलामा भारी मतले बहुमत दिएर देश बनाउने अवसर दिँदासमेत उनीहरुले त्यसलाई सदुपयोग गर्न सकेनन्। बहुमतको सरकार कुनै पनि दलले पूरा अवधि संचालन गर्न सकेनन्। पार्टीभित्रको आन्तरिक कहल मिलाउन नसक्दा देशमा सधैं अस्थिरता हुने र जनतामा नैराश्यता पैदा हुने मात्रै भयो।

देशमा व्यवस्था परिवर्तनका लागि रगत पसिना बगाएका युवाले मुलुकमै रोजगारीको अवसर पाउने आश गरेका थिए, मुलुकमा राजनीतिक स्थिरता कायम भएपछि रोजगारीको अवसर पाउने आशमा बसेका युवालाई आज सरकारले धमाधम रोजगारीका लागि विदेश जान बाध्य पारिरहेको छ।

कुनै पनि दलका नेतासँग मुलुकको रोजगारीको समाधान गर्ने दीर्घकालीन सोच छैन। यही निर्वाचनमा पनि कयौं पुराना अनुहार नै प्रतिस्पर्धामा होमिएका छन्। उमेरले ८० पुगेका बृद्ध नेताहरु पनि चुनावी प्रतिश्पर्धामा होमिएका छन्। पटक पटक चुनाव जितेर आएका ८० वर्षका वृद्धबाट जनताले अपेक्षा गर्ने?

चुनाव जित्नैका लागि अहिले विभिन्न गठबन्धन बनेका छन्। जुन प्राकृतिक रुपमा सही छैनन्। विचार र सिद्धान्त नमिल्ने दलहरु चुनाव जित्न र सत्तामा पुग्नका लागि विचार र सिद्धान्त नमिल्ने दलसँग गठबन्धन गरिरहेका छन्।

लोकतन्त्रमा गठबन्धनले के काम गर्ने हो र यसको सन्देश विश्व लोकतान्त्रिक समाजमा कस्तो जाने हो, यतातर्फ राजनीतिक दलका नेताले सोचेको देखिँदैन। स्वतन्त्र पूर्वक आफ्नो पार्टीलाई चुनावी मैदानमा लगेर चुनाव जित्ने आत्मविश्वास आज कुनै पनि दलमा देखिँदैन।

नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धनको उद्देश्य के होला? यस्तो नेकपा एमाले र राप्रपाबीचको तालमेलको उद्देश्य जनताले बुझ्न सकेका छैनन्। अहिले जुन गठबन्धनले चुनाव जितेपनि देश र जनताको समस्या समाधान हुने देखिँदैन। त्यसैले अब सबै दलका शीर्ष नेताले विश्राम लिएर युवालाई अगाडि बढाउनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *