क्षेत्रीय रक्तसञ्चार केन्द्रलाई रगतको माग धान्न धौ–धौ

डिसी नेपाल
३१ असोज २०७९ २२:२३

टङ्कीसिनवारी । विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई रगतको माग धान्न धौ–धौ भएको छ ।

रगतको सङ्कलन कम हुँदा विभिन्न रोगका बिरामीलाई रगत वितरण गर्न केन्द्रलाई सकस छ । केन्द्रले दिएको जानकारीअनुसार विराटनगरमा दैनिक सय पिन्ट रगतको आवश्यकता पर्ने गरेको छ । तर केन्द्रमा एक दिनमा ४० देखि ५० पिन्टसम्म मात्र रगत सङ्कलन हुने गरेको छ । विभिन्न सङ्घसंस्थाले पनि रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलन गरे पनि त्यो नियमित भने हुन सकेको छैन । सङ्कलित रगत मागको तुलनामा निकै कम रहेको छ ।

प्रदेश नं १ को राजधानीसमेत रहेको विराटनगरमा कोशी अस्पतालसहित सुविधा सम्पन्न कैयौँ निजी अस्पताल एवं क्लिनिक सञ्चालनमा छन् । प्रदेश नं १ को १४ वटै जिल्ला, प्रदेश नं २ को सिरहा र सप्तरीलगायतका केही जिल्ला र भारतको सीमान्त क्षेत्रबाट समेत बाक्लो सङ्ख्याका बिरामी दिनहुँ विभिन्न रोगको उपचार गराउन विराटनगरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा आइपुग्ने गरेका छन् ।

प्रसूतिदेखि मिर्गौलासम्मका बिरामीलाई रगत चाहिने हुन्छ । कतिपय बिरामीको आकस्मिक शल्य चिकित्सा गर्नुपर्ने हुँदा बिरामीका आफन्त रगत खोज्दै भौँतारिनुपर्ने अवस्था छ । केन्द्रका रक्त सञ्चार सेवा अधिकृत शिवानन्द यादवले केन्द्र सधैँ रगत अभावले पिरोलिने गरेको बताए । उनले विराटनगर स्वास्थ्यको हबको रूपमा विकसित हुँदै गएकाले उपचारका लागि अत्यधिक बिरामी आउने गरेको बताए । विराटनगरका अस्पतालमा जति धेरै बिरामी आउँछन् त्यति नै धेरै रगतको माग बढ्दै जाने भएकोले सधैँजसो अभाव हुने गरेको यादवले बताए ।

अधिकृत यादवले रगतको अभाव छ भनेर हात बाँधेर बस्न नमिल्ने भन्दै विराटनगरका अस्पतालको मागबमोजिम आपूर्ति मिलाउन हरसम्भव प्रयत्न गर्ने गरेको बताए । उनले विभिन्न सङ्घसंस्था र रक्तदातासँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेर अन्य ठाउँबाट पनि रगत सङ्कलन कार्य गर्दै माग धान्ने कोसिस गर्ने गरेको बताए ।

अधिकृत यादवले डेङ्गुको बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले रगतका साथै दैनिक पाँच पिन्टको हाराहारीमा प्लेटलेट्सको माग हुने गरेको स्पष्ट पारे । रगत लिन केन्द्र आउनुभएका विराटनगर–१४ का दाताराम चापागाईंले रगतको चरम अभावका बाबजुद केन्द्रले हर हालतमा रगत उपलब्ध गराएको देख्दा खुसी लागेको बताए । चापागाईं आफ्नी बहिनीका लागि रगत लिन केन्द्र आएका थिए ।

विराटनगरमा बसोबास गर्दै आएकी सिरहाकी मञ्जुलाकुमारी मेहताले केन्द्रमा रगतको अभाव महसुस गरी कसैलाई ताजा रगत चाहिए आफूले रक्तदान गर्ने गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *