ऋतिक र सैफको ‘विक्रम वेधा’ फ्लप हुनुको पाँच कारण
मुम्बई। ऋतिक रोशन र सैफ अलि खान स्टारर फिल्म ‘विक्रम वेधा’ बक्स अफिसमा फ्लप सावित भइसकेको छ। यो फिल्म फ्लप हुनुमा मानिसहरूले अनेक कारण देखाएका छन् । कतिपयले फिल्मको मार्केटिङलाई दोष लगाएका छन् भने यसको गीत ‘अल्कोहोलिया’लाई पनि कारण मानिएको छ । यहाँ यो फिल्म फ्लप हुने पाँच कारण प्रस्तुत गरिएको छ।
अल्कोहोलिया
यो फिल्म तमिल फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक हो। तमिलमा ११ करोडको लागतमा बनेको फिल्मले बक्स अफिस ६० करोडको कमाइ गरेको थियो। जबकि हिन्दीमा यो फिल्म एक सय ७५ करोडमा बने पनि व्यापार भने करिब ७५ करोड मात्र गरेको छ। फिल्मको गीत ‘अल्कोहोलिया’मा ऋतिकले उत्कृष्ट नृत्य गरे पनि गीतको वर्ड भ्यालुलाई दर्शकले रुचाएनन्। मदिरासँग सम्बन्धित यो गीतमा ऋतिकका अलावा कुनै ठूलो अभिनेत्रीलाई आइटम नृत्य गराएको भए यसले फिल्मलाई फाइदा पुग्ने अधिकांशको बुझाइ छ।
राधिका आप्टे
फिल्ममा अभिनेत्री राधिका आप्टेले सैफकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। अधिकांश दर्शकले फिल्मले पारिवारिक दर्शकलाई ध्यान नदिइएको आरोप लगाएका छन्। उनीहरूले राधिकाको स्थानमा अन्य कोही नाम चलेको अभिनेत्रीलाई अभिनय गराएको भए दर्शकलाई थिएटरमा तान्न सक्ने उल्लेख गरेका छन्।
फिल्मको संवाद
उत्तर भारतका दर्शकले फिल्मको संवादप्रति आपत्ति जनाएका थिए। फिल्मको संवाद तिनै मनोज मुन्तशिरले लेखेका हुन्, जसको फिल्म ‘आदिपुरुष’लाई लिएर बोलेको कारण चर्चामा छन्। फिल्ममा विक्रम र वेधा दुवै उत्तर भारतीय हुन्। तर कानपूरबाट आएर लखनउमा आफ्नो वर्चश्व बनाउने वेधाको बोली यी दुई क्षेत्रको सट्टा बिहारको जस्तो छ।
फिल्मको प्रायोजित मार्केटिङ
फिल्मको रिलिजअघि नै सामाजिक सञ्जालमा फिल्मको प्रायोजित समीक्षा गर्न र यसलाई ट्रेन्डिङमा ल्याउन एक डिजिटल मार्केटिङ एजेन्सीले मोटो रकम खर्च गरेको थियो। फिल्मको राम्रो समीक्षा गर्न पनि राम्रो रकम खर्च गरिएको चर्चा चलेको थियो।
रिलायन्सको गलत योजना
कानपूर र लखनउका दर्शकले यो फिल्मको प्रचारप्रसार फरक ढंगले गरेको भए फिल्मले पहिलो साता सानदार कमाई गर्ने दाबी गर्छन्। फिल्ममा अनावश्यक बजेट खर्च गरिएको दर्शकको बुझाइ छ। फिल्म रिलिजअघि हिन्दी भाषी क्षेत्रमा प्रचारमा खर्च नगर्नु पनि फ्लप हुने कारण उल्लेख गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment