मौलिकता गुमाउँदै देउसी भैलो

डिसी नेपाल
८ कार्तिक २०७९ १९:१८
52
Shares

कञ्चनपुर । पछिल्लो समय पश्चिमा संस्कृतिको आक्रमणमा परेर देउसी भैलोको मौलिकता हराउन थालेको छ । तिहारको महत्वपूर्ण पक्ष देउसी र भैलो पछिल्ला केही वर्षयता आर्थिक र मनोरञ्जनमा मात्रै सीमित हुन थालेपछि यसको सांस्कृतिक पक्ष लोप हुन थालेकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

यहाँका जानकार आचार्य घनश्याम लेखकले केही वर्षयता देउसी भैलोको सांस्कृतिक पक्ष हराउन थालेको बताए । “देउसी भैलो उति बेलाको सिञ्जा राज्यबाट प्रचलनमा आएको हो, यसको सांस्कृतिक महत्व छ”, उनले भने, “अहिले मनोरञ्जन र आर्थिक पाटोलाई मात्रै हेरेर देउसी भैलो खेल्ने गरिन्छ ।”

देउसी र भैलो तत्कालीन सिञ्जा राज्यका बलिराजाको कथा जोडिएर आउने गरेको उनले बताए । “सिञ्जा राज्यका राजाले पाँच दिन आफ्ना नागरिकलाई घरघरमा गएर माग्न छुट दिएको थियो ।” उनले भने, “राजाले पठाएका कारण नै देउसीमा हामी त्यसै आएका होइनौँ बलि राजाले पठाएको भनेर भन्ने गरिन्छ ।” उनले भैलोको अर्थ भलो होस् भन्ने रहेकाले घरमूलीलाई आशिक दिने गरेको बताए ।

देउसी भैलोको धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारको महत्व धेरै रहेको साहित्यकार रमेश पन्त मीतबन्धुले बताए। “देउसी भैलो गाउँदा लोकगाथा पनि जोडिने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ ।” उनले भने, “ठाउँअनुसार देउसी र भैलो फरकफरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ”, तर पछिल्लो समय आधुनिकताले भने मौलिकता हराउन लागेको उनले बताए।

“देउसी भैलोमा मादललगायत लोकबाजा पनि प्रयोग हुने गर्थे अहिले ती देखिँदैनन्”, उनले भने, “अहिलेको युवा पुस्तालाई यसको सांस्कृतिक महत्वबारे बुझाउन जरुरी छ ।” देउसी र भैलोमा लोकबाजाको ठाउँमा आधुनिक बाजा बजाउने र लोकगाथाको सट्टा आधुनिक गीत गाउने प्रचलनले यसको सांस्कृतिक महत्व ओझेलमा पर्न थालेको साहित्यकार कविराज भट्टले बताए ।

“अहिलेका युवापुस्तालाई संस्कृति संरक्षणका बारेमा बुझाउन जरुरी छ ।” उनले भने, “अहिले पर्वहरुमा मनोरञ्जन गर्ने मात्रै बुझिदिँदा सांस्कृतिक पक्ष ओझेलमा परेको हो ।” उहाँले संस्कृतिसम्बन्धी जानकारले समेत पछिल्लो पुस्तालाई हाम्रो संस्कृतिको बारेमा बुझाउन नसकेको बताए । उनले प्रविधिको विकासले गर्दा मौलिक परम्परा संरक्षणमा चुनौती थपिएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *