चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

डिसी नेपाल
१० कार्तिक २०७९ ९:५८

भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन ।

सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए । उनले भने, “नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।”

ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो ।

दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छ देखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो । यसका लागि रु ६८ करोड २३ लाखमा सम्झौता भएको थियो ।

सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए । कार्यालयले अब रु २१ करोड भुक्तानी गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *