सरकारको अनुमतिविना सशस्त्रका आइजीपी र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सुटुक्क भेटघाट

डिसी नेपाल
१४ मंसिर २०७९ १०:४५

काठमाडौं। सशस्त्र प्रहरीका बलका महानिरीक्षक राजु अर्यालले सरकारको सहमति बेगर उत्तर प्रदेशका बहालवाला मूख्य मन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्।

राम जानकी विवाह अर्थात विवाह पञ्चमीको अवसरमा जनकपुर आएको बेला सशस्त्र प्रहरी बलका आइजीपी अर्यालले उनीसँग भेटघाट गरेका हुन्। उनले भारत उत्तर प्रदेशका मुख्यमन्त्रीलाई भेटघाट गरेको विषयमा गृहमन्त्रालय र अन्य सुरक्षा अंगले चासो व्यक्त गरेका छन्।

योगी आदित्यनाथ विवाह पञ्चमीमा जनकपुर आएको थाह पाएपछि आइजीपी अर्याल ११ गते नै जनकपुर पुगेका थिए। नेपालमा राजनीतिक संक्रमण रहेको, मन्त्रालयमा मन्त्री पनि काम चलाउ अवस्थामा रहेको बेला गृहमन्त्रालयको अनुमति पनि नलिइकन उनले आदित्यनाथसँग भेटघाट गरेका हुन्।

‘उहाँ ११ गते नै जनकपुर आउनु भएको थियो, उत्तर प्रदेशका मुख्यमन्त्रीसँगको भेटघाटको कार्यक्रम रहेछ त्यसपछि फर्कनु भयो’, जनकपुरबाट सशस्त्र प्रहरी बलमा एक अधिकारीले भने।

आइजीपी अर्यालले सरकारको अनुमतिविना भारत उत्तरप्रदेशका मुख्यमन्त्रीलाई भेटघाट गरेको विषयमा नेपाली सेनाले भने चासोको साथ हेरेको छ।

‘उहाँले मुख्यमन्त्रीसँग भेटघाट गर्नुपर्ने के त्यस्तो काम रहेछ, व्यक्तिगत भए पनि आइजीपी जस्तो प्रोटोकल भएको व्यक्ति अर्को देशको मुख्यमन्त्रीसँग भेटघाट गर्दा सरकारको अनुमति लिनुपर्ने हुन्छ, सरकारको अनुमति विना नेपाल र नेपाल बाहिर कतैपनि भेटघाट गर्न मिल्दैन’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।

सशस्त्र प्रहरी बलले भने यो विषयमा केही बताएको छैन। सकेसम्म आइजीपीले मुख्यमन्त्रसँग भेटघाट गरेको विषयलाई गोप्य रहोस भन्ने चाहेको छ। आदित्यनाथसँग भेटघाट गरेर आइजीपी अर्याल १२ गते नै काठमाडौं आएका थिए। उनी काठमाडौ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निम्तो मान्न बालुवाटार पुगेका थिए।

योगी आदित्यनाथ भारतीय जनता पार्टीका प्रभावशाली नेता हुन्। उनले गोरखपुरबाट निर्वाचन जितेका थिए। उनको नेपालका धेरै नेता र सुरक्षा निकायमा अधिकारीहरुसँग सम्बन्ध रहेको छ। तर सम्बन्ध छ भन्दैमा सुरक्षा अधिकारीहरुले अर्को देशको मुख्यमन्त्री वा अन्य तहसँग भेटघाट गर्दा सरकारको अनुमति लिनुपर्ने हुन्छ।

साथै आफूले भेट्न चाहेको काम र त्यसको बारेमा सरकारलाई जानकारी गराएर अनुमति दिएपछि मात्रै भेटघाट गर्नु पर्ने हुन्छ। आइजीपी अर्यालले आदित्यनाथसँग भेटघाट किन र के कारणले गरेका हुन् भन्ने बारेमा कही कतै केही खुलेको छैन। उनले त्यसबारे आफ्न्त र नजिकका साथीहरुलाई पनि केही बताएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *