नयाँ सरकार गठनमा शक्ति राष्ट्रको चलखेल

डिसी नेपाल
१५ मंसिर २०७९ ७:११

काठमाडौं। निर्वाचन सम्पन्न भएर अधिकांश स्थानको चुनावी परिणाम आइरहँदा नयाँ सरकार गठनको लागि दलहरुले सक्रियता बढाएका छन्। अधिकांश निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेपछि दलहरु आफ्नै नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा लागेका छन्।

चुनावी परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको लागि दलहरु दौडधुपमा लागेका हुन्। सत्ता गठबन्धनमा आवद्ध दलहरु आफ्नै नेतृत्वमा नयाँ सरकार गठनगर्ने गृहकार्यमा जुटिरहेका छन् भने प्रमुख प्रतिपक्षी एमाले समेत आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी आन्तरिक तयारी थालेको नेताहरुले बताइरहेका छन्।

दलहरु सत्ता सहकार्यको लागि भागबण्डा र समीकरणमा जुटिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको समेत पछिल्लो समय ब्यापक चलखेल बढ्न थालेको छ। छिमेकी मुलुक भारतले केही दिन यता नेपालका लागि भारतीय राजदूतमार्फत हस्तक्षेपकारी भूमिका बढाइरहेको छ।

भारतीय राजदूत नविन श्रीवास्तवले केही दिनदेखि राजनीतिक सक्रियता बढाएका छन्। उनले सत्ता गठबन्धनका नेताहरुसँग भेटवार्ता गरेका छन्। उनले गठबन्धनका प्रमुख नेता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी यही गठबन्धनलाई निरन्तरता दिन आग्रह गरेको स्रोतले जनाएको छ।

यस्तै केही दिन अगाडि समेत गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन्। राजदूत श्रीवास्तवले सत्ता गठबन्धनलाई सहकार्य गरी अघि बढ्न दुबैलाई सुझाब दिएको स्रोतको दाबी छ।

एमाले माओवादी बीच पूनः सहकार्य गरी सत्ता साझेदारी गर्ने चर्चा चलिरहँदा भारतको सक्रियता बढेको हो। नेपालको राजनीतिमा उल्लेख्य प्रभाव पार्ने भारतले राजदूत मार्फत थप सक्रियता बढाइएको बताइएको छ।

माओवादी केन्द्र र एमालेका दास्रो पुस्ताका नेताहरुले वाम गठबन्धनमा जोड दिँइरहदा भारतले यही सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको छ। उसले अहिलेका गठबन्धनका दलहरुकै साझेदारीमा सत्ता सहकार्य गर्न सुझाएको र गठबन्धालाई निरन्तरता दिनुपर्ने पक्षमा भारत रहेको स्रोत बताउँछ।

एकातिर भारतले सत्ता गठबन्धनलाई निरन्तरता दिन आफ्नो प्रयत्न जारी गर्दैगर्दा कतिपय माओवादी र एमालेका नेताहरुले वाम एकताको प्रयत्न समेत गरिरहेका छन्। यसबाट भारत थप शसंकित बनेकाले उसले पछिल्लो समय गठबन्धनलाई निरन्तरता दिन सक्रियता बढाएको स्रोतले जनाएको छ।

वाम गठबन्धन गरी एमाले माओवादी सहकार्य गर्नुपर्ने दुबै पार्टीका कतिपय नेताहरुले प्रयत्न गरिरहदा उत्तरी छिमेकी मुलुक चीनले कम्युनिष्ट पार्टीबीच एकता वा सहकार्य गर्न अग्रसरता दिने र वाम घटककै सत्ता सहकार्य होस् भन्ने अपेक्षा रहेको बताइएको छ।

माओवादीका प्रभावशाली नेता उपमहासचिव वर्षमान पुन यही परिस्थितिमा छिमेकी मुलुक चीन जाने तयारीमा छन्। नियमित उपचारको लागि जान लागेको बताइएपनि उनको चीन भ्रमणलाई राजनीतिक वृत्तबाट अर्थपूर्ण रुपमा हेरिएको छ।यद्यपि पुनको सचिवालयले नियमित उपचारको क्रममा फलोअपका लागि जान लागेको बताएको छ।

दुई छिमेकी मुलुकमध्ये नेपालको राजनीतिमा इतिहास कालदेखि दक्षिण छिमेकी मुलुक भारतको चलखेल बढ्ने विगतका केही दृष्टान्तहरुले समेत पुष्टि गर्दछ। यही सत्ता सहकार्यको तीब्र रस्साकस्सीका बीच माओवादीका प्रभावशाली नेता पुनको चीन प्रस्थानको तयारीले राजनीतिमा नयाँ समीकरण बन्ने आशंकामा थप बल पुगेको छ।

पुनको सचिवालयले यही हप्ता चीन जाने तयारी थालेको बताएपनि पुनको प्रस्थानलाई विशुद्ध औषधोपचारको लागि मात्र जाने तयारी थालेको बताएको छ। तथापि माओवादीमा प्रभावशाली र चीनसँग सुमधुर सम्बन्ध भएका पुनको भ्रमणले नेपालको राजनीतिमा नयाँ धुव्रीकरण ल्याउने आँकलन गरिएको छ।

माओवादीका अधिकांश नेताहरुले वामगठबन्धनमा जोड दिइरहेको बेलामा पुनको चीन भ्रमण अर्थपूर्ण रहेको भन्दै राजनीतिक वृत्तमा थप आशंका बढाएको छ।

उनको भ्रमणले चीनसँग नेपालका कम्युनिष्टहरुसँगको उसको सदासयताले चिनियाँ प्रयत्नले वाम शक्तिलाई एक ठाउँमा ल्याउने आशंका ब्याप्त छ। गठबन्धनकै दलहरुभित्र विश्वासको वातावरण नबनिरहेको बेला सत्ता समीकरणमा फेरबदल आउने आशंका समेत पुनको चीन यात्राले बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *