नयाँ सरकार गठबन्धनकै, नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न बाँकी

डिसी नेपाल
१६ मंसिर २०७९ १०:४६
296
Shares

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्ने गरी नेपाली कांग्रेसले पहल सुरु गरेको छ।

वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार निर्माणमा सकारात्मक पहल भइरहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

निर्वाचन परिणामले सत्ता गठबन्धनको बहुमत नपुग्ने देखिएपछि देउवाले अन्य घटकसँगको परामर्शलाई तिव्रता दिएका छन्। बिहीबार प्रधानमन्त्री देउवाले जनमत पार्टीका नेता सिके राउतसँग परामर्श गरेका थिए।

राउतले आफू लोकतान्त्रिक शक्तिसँग मिल्न तयार रहेको भन्दै सरकारमा सहभागी हुने जनाउ दिएका थिए। उनले आफूहरुको माग शिक्षा, स्वास्थ्य, रोजगार र कृषि भएको भन्दै यी माग सम्वोधन गर्न लोकतन्त्रिक शक्तिसँग मिलेर सरकारमा सहभागी हुन तयार रहेको जानकारी दिएको उपसभापति खड्काले बताए।

‘अहिले सरकार निर्माण गर्ने क्रममा गठबन्धनलाई नै निरन्तरता दिने गरी छलफल अगाडि बढिरहेको छ,’ उपसभापति खड्काले डिसी नेपालसँग भने, ‘सिके राउतजीसँग सकारात्मक कुरा भएको छ, अन्य दलसँग पनि संवादमा छौं। अब गठबन्धनकै सरकार बन्छ।’

वर्तमान गठबन्धनलाई नै अगाडि बढाउन माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तयार देखिएका छन्। तर त्यसका लागि प्याकेज मै सहमति हुनुपर्ने उनीहरुको माग छ। विशेष गरी शक्ति बाँडफाँट गर्दा प्याकेजमा सहमति हुनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ।

कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भइसकेको छ। तर सुरुमा कसको नेतृत्व भन्ने विषयमा सहमति जुट्न सकेको छैन। तर उपसभापति खड्का भने यो विषयमा कुनै विवाद नभएको बताउँछन्। ‘अहिले गठनबन्धन भित्र कुनै पनि विषयमा विवाद छैन,’ उनले भने, ‘यही गठबन्धनलाई निरन्तरता दिने हो, बाँकी विषयमा पनि विवाद छैन।’

प्रधानमन्त्री देउवाले गठबन्धन बाहेकका दलका नेतासँग संवाद गर्न आफू निकट मानिने उपसभापति खड्कालाई जिम्मेवारी दिएका छन्। उनले विभिन्न माध्यममार्फत अन्य दलका नेतासँग पनि परामर्श गरिरहेका छन्।

कांग्रेसभित्र आलोपालो प्रधानमन्त्री बन्ने विषयमा विवाद नभएपनि सुरुको नेतृत्व आफैंले पाउनुपर्ने मत राख्ने नेताहरुको संख्या धेरै छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत सबैभन्दा ठूलो दलको नाताले कांग्रेस नेतृत्वमा नै सरकार गठन हुने दाबी गर्छन्। सुरुमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने विषयमा कुनै विवाद नरहेको उनको दाबी छ।

तर माओवादीले भने आलोपालो गर्ने सहमति अनुसार सुरुमा आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने पक्षमा छ। माओवादीका एक पदाधिकारीका अनुसार वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै सुरुमा माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्ने आफूहरुको अडान रहेको बताउँछन्।

‘निर्वाचन अगाडि नै आलोपालो सरकार सञ्चालन गर्ने सहमति भइसकेको छ,’ ती पदाधिकारीले भने, ‘सो सहमति अनुसार अब माओवादी नेतृत्वमा नै सरकार गठन गर्नुपर्छ भन्ने हाम्रो अडान हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *