कतार विश्वकप : मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा

डिसी नेपाल
१८ मंसिर २०७९ ६:४५
156
Shares

काठमाडौं। अस्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे। अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए।

करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल गरेका थिए। बक्स भित्र ओटामेन्डीले मिलाएको बललाई मेसीले सहज गोल गरे। यस गोलसँगै मेसीले नकआउट चरणमा पहिलो गोल गर्न सफल रहे। मेसीले देशका लागि एक सय १९औं खेल खेलेका थिए। यससँगै फिफा विश्वकपमा मेसीको गोलसख्या नौ पुगेको छ।

दोस्रो हाफमा दुई पटकको च्याम्पियन अर्जेन्टिनाले दोस्रो अग्रता बनायो। अल्भारेजले ५७औं मिनेटमा बक्सभित्रबाट सहज गोल गरे। अस्ट्रेलियाको गोलरक्षक म्याट रायनले गरेको गल्ती फाइदा उठाउँदै जुलियन अल्भारेजले २-० को अग्रता दिलाएका हुन्।

खेलको ७७औं मिनेटमा अस्ट्रेलियाले दूरी घटायो। वैकल्पिक खेलाडी क्राइग गुडविनको प्रहार अर्जेन्टिनी डिफेन्डर एन्जो फर्नान्डेजलाई लाग्दै जाली चुमेको थियो। खेलको दोस्रो हाफमा अजिज बेहिचले दोस्रो गोल गर्ने अवसर गुमाएका थिए। उनको प्रहार बक्सभित्रबाट अर्जेन्टिनाको लिसान्द्रो मार्टिनेजले क्लियर गरेका थिए।

अब, अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ। राति नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *