दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी

डिसी नेपाल
१९ मंसिर २०७९ ९:५४

दोलखा। दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनीहरूका बीचमा तीन सय १७ मतान्तर रहेको छ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्। जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो।

यो सँगै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। जसअनुसार सबैभन्दा बढी नेपाली कांग्रेसले ५७ सिट प्राप्त गरेको छ भने नेकपा एमाले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी नेकपा मा‌ओवादी केन्द्रले १८, नेकपा एस दश, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान सात सिट हात पारेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवाहरु पाँच स्थानमा विजयी भएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ती पार्टीले तीन र नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक सिटमा विजयी भएका छन्।

त्यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ ११० सिट जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले ९२, माओवादी केन्द्र ५३, नेकपा एस १५ स्थानमा विजयी भएका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवारहरु १२, जनता समाजवादी र राप्रापा समान ११, लोकतान्त्रिक समाजवादी पार्टी नौ, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी समान सात र हाम्रो नेपाली पार्टी, नेपाल समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले १-१ स्थानमा विजयी हासिल गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभातर्फको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ। पछिल्लो विवरण अनुसार नेकपा एमाले २७ लाख ८८ हजार ३५६ मत सहित प्रथम स्थानमा छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत प्राप्त गर्दै दोस्रोमा रहेको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २४ हजार ५४३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच लाख ८६ हजार ३३८ मत प्राप्त आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *