विश्वकप फुटबल : क्रोएसिया क्वाटरफाइनलमा

डिसी नेपाल
२० मंसिर २०७९ ७:१२

काठमाडाैं। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ। साेमबार कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो।

खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो। क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए।

जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो।

क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए। क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो।

क्रोएसियाले क्वाटरफाइनलमा आज राति हुने ब्राजिल र दक्षिण कोरियाबीचको विजेता खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *