अमेरिकी संसदको दुवै सदनबाट समलिङ्गी सम्बन्धसम्बन्धी ऐतिहासिक विधेयक पारित

डिसी नेपाल
२४ मंसिर २०७९ १०:०६
76
Shares

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले समलिङ्गी सम्बन्ध र अन्तरजातीय विवाहलाई संरक्षण गर्ने ऐतिहासिक विधेयक पारित गरेको छ ।

यसअघि यो विधेयक अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अमेरिकी राष्ट्रपतिसमक्ष पठाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विधेयकमा आफूले गर्व र तयारीका साथ हस्ताक्षर गर्ने बताएका छन् ।

उनको हस्ताक्षरसँगै यो विधेयकले कानुनको रुप लिनेछ । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीका ३९ सदस्यले यस विधेयकको समर्थनमा मतदान गरेका छन् ।

अमेरिकी संसदको यो सदनमा अहिले डेमोक्र्याटिक पार्टीको बहुमत छ । तर हालै सम्पन्न मध्यावधि चुनावको नतिजाका कारण जनवरीमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा बहुमत ल्याउने छ ।

अमेरिकी सर्वोच्च अदालतले रूढिवादी विचारधाराका न्यायाधीशहरूको नेतृत्वमा गर्भपतनसम्बन्धी पुरानो निर्णयलाई उल्टाइदिएपछि अमेरिकामा यस विधेयकसम्बन्धी प्रयास सुरु भएको थियो।

यो निर्णय आएपछि लोकतान्त्रिक क्याम्पमा सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धसम्बन्धी सन् २०१५ को फैसलालाई उल्टाउन सक्ने आशंका बढेको थियो । यही दिशामा २०१५ को निर्णय उल्टाए पनि यस्ता वैवाहिक सम्बन्धलाई जोगाउने गरी यो विधेयक ल्याइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *