यी हुन् समानुपातिकबाट माओवादी सांसद बन्ने १४ जना

डिसी नेपाल
२४ मंसिर २०७९ ११:१२

काठमाडौं। निर्वाचन आयोगले प्राप्त गरेको मत परिणामका आधारमा बन्दसूचीमा राखेका उम्मेदवारहरुको अन्तिम नामावली पठाउन दलहरुलाई बुधबार तीन दिनको ताकेदा दिएको छ। दलहरुले आयोगलाई निर्वाचन आयोगमा बुझाएको सूची अनुसार तोकिएको क्लस्टरभित्र रहेर उम्मेदवारको नाम सिफारिस गर्ने अन्तिम तयारीमा छन्।

माओवादी केन्द्रले प्राप्त गरेको मत र आयोगले तोकेको मापदण्डभित्र रहेर नाम छनोट गर्ने अन्तिम तयारीमा छ। शुक्रबार बसेको पदाधिकारी बैठकले टुंगो लगाउन सकेन। अब शनिबार बस्ने बैठकले टुंगो लगाउने बताइएको छ।

प्रत्यक्षतर्फ तेस्रो दल रहेर १८ सिट जितेको माओवादीले समानुपातिकतर्फ पाएको मतपरिणाम अनुसार उसले १४ जना सांसद पाउने भएको छ। जसमध्ये ३३ प्रतिशत महिलालाई समावेश गर्नुपर्ने प्रावधान छ। उसको प्रत्यक्षतर्फ एक महिलामात्रै निर्वाचित भएकी छन्। राष्ट्रियसभामा रहेका १५ सांसदमध्ये तीन जना महिला छन्।

माओवादीले समानुपातिकतर्फ १४ जना सांसद पठाउनुपर्नेमा आयोगले तोकेको मापदण्ड अनुसार कम्तीमा १२ जना महिलाको प्रतिनिधित्व हुनेगरी चयन गर्नुपर्नेछ। त्यसो हुँदा पुरुषतर्फ २ जनामात्रै समानुपातिकबाट सांसद हुन पाउनेछन्।

माओवादीका प्रत्यक्ष निर्वाचित १८, राष्ट्रिय सभाका १५ र अब समानुपातिकबाट चयन हुने १४ गरी उसको कूल सांसदसंख्या ४७ हुन आउँछ। यसको ३३ प्रतिशत पुग्ने गरी उसले महिला प्रतिनिधित्व गराएर समानुपातिकबाट सांसद छनोट गर्नुपर्नेछ। जसअनुसार १५ जना महिला सांसदले दुबै सदनमा गरेर माओवादीको प्रतिनिधित्व गर्नुपर्ने प्रावधान छ।

माओवादीले समावेशीताको आधारमा सबै क्लस्टरमा पर्ने गरी सांसद चयन गर्दा मधेशी आदिवासी, दलित ,खसआर्य, महिला र मुश्लिमको प्रतिनिधित्व हुने गरी चयन गर्नुपर्ने छ।

माओवादी स्रोतले दिएको जानकारी अनुसार १४ जनाको सिटमा माओवादीबाट जाने समानुपातिक उम्मेदवारहरुमा आदिवासी जनजातीतर्फ दुर्गा राई, मिना तामाङ र उर्मिला माझी पौडेलको संभावना बलियो रहेको छ।

यस्तै खस आर्यतर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्माको प्रबल संभावना रहेको बताइएको छ। थारुतर्फ रुपासोसी चौधरीको संभावना प्रबल छ।

दलिततर्फ सुशीला श्रीपाली ठकुरी र पार्वती बिकको लगभग निश्चित जस्तै देखिएको छ। मुस्लिमतर्फ कल्पना मियाँ चुनिने संभावना रहेको बताइन्छ।
अन्य बाँकी दुई पुरुषतर्फ माओवादीमा खसआर्य समूहबाट यसपटक हितराज पाण्डे सर्वसम्मत चयन गर्ने तयारी गरिएको माओवादी निकट स्रोत बताउँछ। बाँकी एक जनामा सहमति जुट्न नसकेको बताइएको छ। यद्यपि चर्चामा अजम्बर राई काङमाङ र पेशल खतिवडाको नाम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *