सिलिन्डर विस्फोटमा अहिलेसम्म ३२ जनाको मृत्यु, आफन्तले शव लिन मानेनन्

डिसी नेपाल
२ पुष २०७९ १०:०६

काठमाडौं । राजस्थानमा गत डिसेम्बर ८ मा जोधपुर जिल्लाको शेरगढ थाना क्षेत्रमा सिलिन्डर विस्फोटको घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । हाल जलेका ९ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

पछिल्लो दुई दिनमा थप सात जनाको मृत्यु भएपछि आफन्तले शव लिन मानेनन् । आफ्ना मागका लागि परिवारका सदस्य दुई दिनदेखि अस्पतालमा धर्नामा बसेका छन् ।

आफन्तले माग पूरा नभएसम्म शव लिन अस्वीकार गरेका छन् । जोधपुरको महात्मा गान्धी अस्पतालमा भर्ना भएका बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजश्री बेहेराले बीबीसीलाई भनिन्, “अस्पतालमा ५३ जनालाई भर्ना गरिएको थियो। अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ। दुई जनाको शव ल्याइएको थियो। आफन्तले अस्वीकार गरेका कारण सातवटा शव अस्पतालको शवगृहमा राखिएको छ।”

डा बेहराले भनिन्, “अहिले ९ जना बिरामी आईसीयूमा छन् जसको अवस्था गम्भीर रहेको छ। वार्डमा ९ जनाको उपचार भइरहेको छ।”

जोधपुर ग्रामीण प्रहरी उपरीक्षकले बीबीसीलाई भने, “मृतकका आफन्तहरू बुधबार साँझदेखि अस्पतालमा हडतालमा छन्। उनीहरूले क्षतिपूर्ति बढाउन माग गरिरहेका छन्। कलेक्टर र म आफन्तहरूसँग कुरा गरिरहेका छौं।”

डिसेम्बर ८ मा शेरगढ थाना क्षेत्रको भुङ्ग्रा गाउँपालिकामा विवाहको कार्यक्रममा चारवटा सिलिण्डर विष्फोट भएको थियो ।

मुख्यमन्त्री अशोक गहलोतले अस्पताल पुगेर पीडितलाई भेटेर आर्थिक सहयोगको घोषणा पनि गरेका छन् ।

यहाँ जोधपुरको यो घटनालाई ग्यास त्रासदीको नाम दिइएको छ । राज्यमा पहिलो पटक यस्तो घटनामा ठूलो संख्यामा मृत्यु भएको छ ।

केन्द्र सरकारले शुक्रबार प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *