जग खन्दा तोपगोला !

डिसी नेपाल
६ पुष २०७९ ६:५०
228
Shares

पाल्पा। पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन्। तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका ‘गोला’ भेटिएको हो।

नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको हो। पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको थियो। उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ।

गोला बनाउने गोलाखानासँगै हतियार बनाउने कारखाना (सिलेखाना) र बारुद बनाउने बारुदखानासमेत पाल्पामा सञ्चालनमा थियो। भीमसेन थापाको पालादेखि नै सेनाको पल्टन पाल्पामा बसेको देखिन्छ, इतिहासका जानकार निर्मल श्रेष्ठले भने, “सोही बेलादेखि पाल्पामा हतियार बनाउन स्थान (खाना) थियो।” अहिले सेनाले घडेरी खनेको स्थानमा गोलाखाना (तोपको गोला) रहेको उनले बताए।

वि.सं. २०१८ सम्म सोही गोलाखानाबाट सेनाको विभिन्न कार्यक्रम तथा दशैँका बेला गोला पड्काउने प्रचलन रहेको श्रेष्ठको भनाइ छ। त्यहाँ झिँगटीले छाएको घरमा तोपमा प्रयोग हुने गोला भण्डारण गरिएको उाले बताए।

तोपका गोला भेटिएको क्षेत्र राणाकालका बेलासम्म गोला बनाउने र भण्डारण गर्ने स्थल भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। उनले अहिले नेपाली सेनाले घडेरी खन्ने क्रममा दुई सयभन्दा बढी तोपका गोला फेला परेको जानकारी दिए।

उक्त गोला कुन समयमा केका लागि प्रयोग भएको भन्ने बारेमा अहिल्यै भन्न नसके पनि दुई/तीन सय वर्षअघि प्रयोग भएको हतियार हुन सक्ने प्रजिअ पन्तले बताए।

फेला परेका गोला सङ्कलन गरिएको पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्रा दल गणले जनाएको छ। सेनाको अतिथि गृह बनाउन घडेरी खन्ने क्रममा तोपका पुराना प्रयोग हुन नमिल्ने गोला फेला परेको गणपति बालमुकुन्द विष्टले जानकारी दिए। फेला परेका गोला सङ्कलन गरेर राखिएको र अहिले पनि उक्त स्थानमा खन्ने क्रम जारी रहेकाले गोलाको सङ्ख्या बढ्न सक्ने विष्टले बताए। फेला परेका गोला माथिल्लो निकायलाई सोधेर मात्र के गर्ने भन्ने निर्णय लिने उनले बताए।

फेला परेका गोलाको बीच भागमा साना प्वाल छन्। गोलाका आकार ठूला र साना छन् । उक्त प्वालमा बारुद राखेर तोपको सहायताबाट फड्काउने गरिएको थियो । फेला परेका गोला पड्कने अवस्थाका नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। गाेरखापत्र दैनिकबाट

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *