आफ्नै समूहका ६ सांसदले गगनलाई किन दिएनन् भोट?

डिसी नेपाल
६ पुष २०७९ ११:४०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज भएको संसदीय दल निर्वाचनमा देउवाले गगन थापालाई ३९ भोटले पछि पार्दै निर्वाचित भएका हुन्।

संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री थापाले २५ मत मात्र प्राप्त गरे। संसदीय दलमा शेखर कोइराला र गगन थापाबी लामो छलफलपछि इतरपक्षबाट गगन प्रतिस्पर्धामा उत्रिएका थिए।

काँग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तिमा पनि ३१ सांसद अहिले निर्वाचित भएका थिए। तर ती सबै सांसदहरूले समेत गगनलाई मत दिएनन्।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत गगनलाई साथ दिएकाले कम्तिमा पनि ३६ मत कट्ने इतर समूहको विश्लेषण थियो।

मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेका छन्। मतदान आज बिहान भएको थियो।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए।

यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *