स्पेनीस क्लबसँगको खेलमा गण्डकी पराजित

डिसी नेपाल
१३ पुष २०७९ २०:५०

कास्की । स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी–११ माथि सहज जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो । कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो । कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक÷एक गोल गरे ।

खेलको २३औँ मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकामा ३०औँ मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ९०औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेरेन्योले खेल जितेको हो ।

‘शान्तिका लागि फुटबल’भन्ने मूल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिसल टोली मैत्रीपूर्ण खेलका लागि पोखरा आएको हो । स्पेनको टोलीमा केही विश्वकप खेलिसकेका खेलाडीसमेत आबद्ध थिए ।

खेलपछि स्पेनका प्रशिक्षक जुलिओ कोबोसले नेपाल आएर खेल्न पाउँदा खुसी लागेको बताए । उनले नेपाली टोलीको तीव्र गतिमा खेल्ने शैली आफूहरूलाई मन परेको उल्लेख गरे ।

गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले स्पेनिस टोलीले शारीरिक र प्राविधिकरुपमा राम्रो खेलेको बताउँदै आफ्नो टोलीले केही सिक्ने अवसर प्राप्त गरेको बताए । गण्डकीका कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको एक क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकका लागि ठूलो उपलब्धि भएको बताउँदै यस खेलले आगामी दिनमा थप खेल खेल्नका लागि सुरुआत भएको बताए । स्पेनको सो टोलीले काठमाडौँमा पनि एक मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *