चीनको सैन्य विमान अमेरिकी लडाकु विमानसँग ठोक्किन लागेपछि अमेरिका आक्रोशित

डिसी नेपाल
१६ पुष २०७९ १२:५१

काठमाडौं । अमेरिकी वायुसेनाको विमान चिनियाँ सैन्य विमानसँग ठोक्किएर दक्षिण चीन सागर क्षेत्रमा ठूलो दुर्घटना हुनबाट मुस्किलले जोगिएको छ । दुई विमानबीच १० फिटको दूरी मात्र बाँकी थियो । अमेरिकाले आफ्नो पाइलटले समयमै विमानलाई बचाउन नसकेको भए ठूलो दुर्घटना हुन सक्ने बताएको छ । योसँगै अमेरिकाले चीनलाई पनि चेतावनी दिएको छ ।

बिहीबार यसबारे जानकारी दिँदै अमेरिकी सेनाले भनेको छ, गत हप्ता दक्षिण चीन सागरमा चिनियाँ सेनाको विमान अमेरिकी वायुसेनाको विमानसँग यति नजिक आएको थियो कि दुईबीच १० फिट मात्रै दुरी थियो । यही कारणले गर्दा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा दुर्घटना हुन नदिन तत्काल कारबाही गर्दै अमेरिकी लडाकु विमानका पाइलटलाई त्यहाँबाट अलग्गिनुपरेको थियो ।

अमेरिकाले चिनियाँ सैन्य विमान यति नजिक आउनु निकै खतरनाक भएको बताएको छ । अमेरिकी सेनाले भनेको छ कि यो घटना डिसेम्बर २१ मा चिनियाँ नौसेनाको जे-११ लडाकु विमान र अमेरिकी वायुसेनाको आरसी-१३५ विमान आकाशमा उडिरहेको बेला भएको हो।

अमेरिकाको विज्ञप्तिमा थप भनिएको छ, “हामी आशा गर्छौं कि इन्डो-प्यासिफिक क्षेत्रका सबै देशहरूले सुरक्षित रूपमा र अन्तर्राष्ट्रिय कानून बमोजिम अन्तर्राष्ट्रिय एयरस्पेस प्रयोग गर्नेछन्।” अमेरिकी सेनाका प्रवक्ताले थपे कि चिनियाँ विमान अमेरिकी जेटको पखेटाको १० फिट भित्र आएको थियो। तर, दुवैको अगाडि २० फिटको अन्तर थियो ।

यसै क्रममा अर्का अमेरिकी अधिकारीले यस विषयमा चिनियाँ सरकारसँग छलफल भएको बताए । तर अमेरिकास्थित चिनियाँ दूतावासले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर, चीनले यी मामिलामा प्रतिक्रिया दिन प्रायः बेवास्ता गरेको देखिन्छ। विगतमा पनि चीनले यस्ता घटनामा निकै कम प्रतिक्रिया दिएको छ ।

चीनले पटक पटक आफ्नो अहंकार देखाएको छ । चीनले सम्पूर्ण क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । अहिलेको घटना हुनुअघि पनि चीनले दक्षिण सागरमा अमेरिका र अन्य देशका सैन्य विमानलाई चुनौती दिँदै आएको छ । सन् २००१ मा नै चिनियाँ विमान उड्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि विमान ध्वस्त भएको थियो र पाइलटको पनि मृत्यु भएको थियो ।

लामो समयदेखि चीन र अमेरिकाबीचको सम्बन्ध खासै राम्रो छैन। दुवै देशमा सधैं तनावको अवस्था रहन्छ । विशेषगरी ताइवान मुद्दामा दुई देश एकअर्कासँग भिड्दै आएका छन् । रुस–युक्रेन युद्धमा पनि अमेरिका खुलेर युक्रेनको साथमा छ भने चीनले रुसलाई सहयोग गरिरहेको छ । यस युद्धमा दुवै देशको फरक विचारधाराका कारण दुई देशबीचको सम्बन्ध छिट्टै मिठास नहुने प्रमाणित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *