चीनले देशमा कोरोनाको अवस्थाको रियल टाइम डाटा साझा गर्नुपर्नेछ: डब्लुएचओ

डिसी नेपाल
१६ पुष २०७९ १६:४१

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले चिनियाँ अधिकारीहरूले देशमा कोभिड–१९ को अवस्थाबारे वास्तविक तथ्याङ्क साझा गर्नुपर्ने बताएको छ। डब्लुएचओको यो बयान यस्तो समयमा आएको हो जब चीनमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ ।

पछिल्ला केही हप्तामा चीनमा कोरोनासँग सम्बन्धित धेरै कडा प्रतिबन्धहरू हटाइएको छ। त्यसपछि देशमा कोरोनाका केसहरू बढ्दै गएका छन् र अहिले धेरै देशले चीनबाट आउने यात्रुको स्क्रिनिङ गरिरहेका छन् ।

डब्ल्यूएचओ अधिकारीहरूले भनेका छन् कि उनीहरूलाई अस्पताल र आईसीयूमा भर्ना भएका बिरामीहरूको मृत्युको बारेमा थप डाटा आवश्यक छ। यसका साथै संस्थाले खोप सम्बन्धी तथ्याङ्क पनि मागेको छ ।

अमेरिका, स्पेन, फ्रान्स, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवान जस्ता देशहरूले आफ्नो देशमा भाइरसको पुन: फैलावट रोक्न चीनबाट आउने यात्रुहरूका लागि कोभिड परीक्षण अनिवार्य बनाएका छन्।

योसँगै बेलायतले चीनबाट आउने यात्रुलाई उडानमा चढ्नुअघि कोभिड नेगेटिभ भएको कागजात पेश गर्नुपर्ने नियम बनाएको छ ।

चिनियाँ अधिकारीहरूसँगको वार्तापछि जारी गरिएको विज्ञप्तिमा डब्ल्यूएचओले भनेको छ, ‘डब्लुएचओले पछिल्लो संक्रमणसँग सम्बन्धित विशिष्ट र वास्तविक समयको तथ्याङ्कको नियमित आदानप्रदान गर्न फेरि माग गरेको छ। यससँगै खोप सम्बन्धी तथ्याङ्क पनि माग गरिएको छ ।’

डब्लुएचओले यी मामिलामा सहयोग गर्नुका साथै खोप लिनको लागि मानिसहरूको हिचकिचाहट हटाउन इच्छुक रहेको बताएको छ। संगठनले वर्तमान अवस्थामा धेरै देशका तर्फबाट प्रतिबन्ध लगाउनु बुझ्न सकिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *