आणविक हतियारको भण्डार बढाउने तयारीमा उत्तर कोरिया, नयाँ वर्षमा के छ किम जोङको योजना ?
काठमाडौं । दक्षिण कोरिया र जापानसँग बढ्दो तनावको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले ब्यालेस्टिक मिसाइल र ठूलो आणविक हतियार विकास गर्ने वाचा गरेका छन्।
सत्तारुढ वर्कर्स पार्टीको बैठकमा किम जोङ उनले देशको सार्वभौमसत्ता र सुरक्षाका लागि ठूलो सैन्य शक्तिमा जोड दिएको उत्तर कोरियाली सञ्चारमाध्यमले आइतबार बताएको छ ।
गत हप्ता उत्तर कोरियाली ड्रोनद्वारा घुसपैठ र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारपछि सीमापार तनावका बीच किम जोङ उनसँगको बैठक भएको हो। किमले अमेरिका र दक्षिण कोरियाले प्योङयाङलाई एक्लो पार्ने प्रयास गरेको र दबाब दिएको आरोप लगाए ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले रिपोर्ट गरेको छ कि किम जोङ-उनले देशको आणविक शक्तिलाई बलियो बनाउने योजनाको एक भागको रूपमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल विकास गर्ने वाचा गरेका छन्।
यसै क्रममा किम जोङले दक्षिण कोरियालाई आफ्नो शत्रु घोषणा गरेका थिए । निस्सन्देह दक्षिण कोरिया हाम्रा लागि शत्रु बनेको उनले बताए ।
हालै उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति हासिल गर्नु रहेको बताएका थिए । उनले हालै उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई प्रवर्द्धन गर्ने क्रममा यस्तो बताएका हुन्।
उत्तर कोरियाले नोभेम्बरमा अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक ब्यालेस्टिक मिसाइलसहित धेरै हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यो वर्ष सैन्य तनाव तीव्र रूपमा बढेको छ ।
३० डिसेम्बरमा पनि उत्तर कोरियाले आफ्नो उत्तर पूर्वी तटमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यो वर्ष उत्तर कोरियाले गरेको हतियार परीक्षण मध्ये एक थियो।
उत्तर कोरियाबाट मिसाइल प्रहार भएपछि दक्षिण कोरियाको सेनालाई सतर्क गराइएको छ । अमेरिका, दक्षिण कोरिया र जापानको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले गत अक्टोबर र नोभेम्बरमा पनि दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।







डिसी नेपाल







Facebook Comment