शीतलहरले जनजीवन कष्टकर बन्दै

डिसी नेपाल
१८ पुष २०७९ १२:४३
112
Shares

राँझा। दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ। बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ।

चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ। बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन्।

नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले जानकारी दिए। शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छ। चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले टोल–टोलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गर्ने तयारी गरेको त्यहाँका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए।

केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको जनाइएको छ। मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, ‘कोल्ड डायरिया’ रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिक आउने क्रम बढेको उक्त अस्पतालका निर्देशक डा एम किदवाइले बताए।

उनले चिसो बढेसँगै बिरामी पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे। भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै बढ्दै गएको त्यहाँका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *