प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव नेपाल सकारात्मक

डिसी नेपाल
२० पुष २०७९ १६:४०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष नेपालले आजै पार्टी निकट युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सरकारबारे आवश्यक निर्णय गर्ने बताएका थिए । उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन अझै केहि दिन बाँकी रहेकाले त्यसअघि नै आफ्नो पार्टीले आवश्यक निर्णय गर्ने बताए ।

अहिलेको राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम नै स्पष्ट नरहेकाले प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न नसकिने उनले बताऐ । अध्यक्ष नेपालले सवैको राय बिचार लिएर सरकारका बिषयमा संस्थागत निर्णय लिने जिकिर गरे ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीभित्र पनि सरकारलाई विश्वासको मत दिएर सहभागी हुनुपर्ने आवाज उठेको छ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन पहल गरिरहेका बेला आज भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *