चीनमा धेरै सेलिब्रेटीको मृत्यु भएपछि कोरोनाको त्रास झनै बढ्यो

डिसी नेपाल
२३ पुष २०७९ १०:१७

काठमाडौं । चीनमा कोरोनाका बढ्दो मामिलाका बीच चर्चित व्यक्तिको मृत्यु भएपछि आधिकारिक तथ्यांकलाई लिएर जनतामा शंका बढ्दै गएको छ । गत महिना ओपेरा गायक चु लानलानको ४० वर्षको उमेरमा मृत्युले सबैलाई चकित बनाएको थियो ।

परिवारले यसप्रति दुःख व्यक्त गरे पनि मृत्युको कारण भने खुलाएनन् । त्यस्तै नयाँ वर्षमा अभिनेता कुङ जिन्ताङको मृत्युले चीनमा इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध बनाएको छ ।

८३ वर्षीय जोङ एक लोकप्रिय चिनियाँ टिभी शृंखला ‘इन-लॉज, आउट-लॉज’ मार्फत घरघरमा चर्चामा आएका थिए। उनको चरित्रको नाम ‘फादर खाङ’ थियो ।

उनको मृत्युको कारण खुलेको छैन तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अन्य वृद्धको मृत्युसँग जोडिरहेका छन्।

एक प्रयोगकर्ताले वेइबो मा लेखेका छन्, ‘फादर खाङको आत्माले शान्ति पाओस्। यो लहरले धेरै वृद्धहरुको ज्यान लिइरहेको छ । बुढापाकाको पूरा ख्याल गर।’

हालै भएका मृत्युमध्ये चर्चित पटकथा लेखक नि जेन (८४ वर्ष) र पूर्व पत्रकार हु फ्युमिङ (८७ वर्ष)को मृत्यु चर्चाको विषय बनेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार २१ देखि २६ डिसेम्बरको बीचमा देशमा विज्ञान र इन्जिनियरिङका १६ शीर्ष व्यक्तिको मृत्यु भएको थियो।

मृत्युमध्ये कुनै पनि कोविडसँग जोडिएको थिएन, तर सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो।

चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति अन्त्य गर्‍यो। यसपछि देशमा कोरोना संक्रमितको गति निकै बढेको छ ।

चीनमा अस्पताल र शवदाह गृहहरूमा भीडभाड भएको धेरै रिपोर्टहरू छन्।

तर, चीनले कोरोनाको दैनिक तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । आफ्नो मापदण्ड अनुसार चीनले डिसेम्बरमा मात्र २२ जना कोरोना केस आएको बताएको छ ।

अहिले निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोग लागेर मृत्यु हुनेको मात्रै गणना भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार चीनले कोरोनाका बढ्दो केस र मृत्युको बारेमा सही जानकारी नदिएको चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *