ओडिशामा तीन रूसी नागरिकको मृत्युमा रहस्य थपियो, भारत सरकारले यस्तो बयान दियो

डिसी नेपाल
२३ पुष २०७९ १३:४२

काठमाडौं । भारतीय विदेश मन्त्रालयले विगत केही दिनमा भारतको ओडिशा राज्यमा तीन रुसी नागरिकको मृत्यु भएको सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले ओडिशाको रायपुरमा यसअघि ज्यान गुमाएका दुई रुसी नागरिकबारे अनुसन्धान भइरहेको बताएका छन् ।

उनले भने ‘हामीले ओडिशाको तटमा एक रूसी नाविकको मृत्युको बारेमा पनि थाहा पाएका छौं। उनको शव अन्य औपचारिकताका लागि पारादीप पोर्टमा ल्याइएको छ ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ताले भने कि यी तीन घटनामा कुनै पनि सम्बन्ध देखिएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ताले भारत ठूलो देश भएकाले ठूलो संख्यामा विदेशी पर्यटक घुम्न आउने गरेको बताए ।

ओडिशामा पछिल्ला केही दिनमा रुसका तीन नागरिकको रहस्यमय मृत्यु भएको छ । यी नागरिकहरूमा पुटिनका आलोचक मानिने पूर्व रूसी सांसद र करोडपति पावेल एन्टोनोभ पनि थिए।

ओडिशाको रायगडको एक होटलबाट रुसी नागरिकको मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको थियो । ती नागरिकको पहिचान भ्लादिमिर बिडोनेभको रूपमा भएको थियो। प्रहरीका अनुसार भ्लादिमिर आफ्नो कोठामा अचेत अवस्थामा फेला परेका थिए, उनलाई अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको थियो ।

भ्लादिमिरको मृत्युको मुद्दा चलिरहँदा अर्का रुसी नागरिक पावेल एन्टोनोभको सोही होटलको छतबाट खसेर मृत्यु भएको थियो । अचम्मको कुरा के थियो भने रुसी राष्ट्रपति पुटिनका आलोचक मानिने पावेल एन्टोनोभ र भ्लादिमिर रुसबाट चार जनाको समूहमा भारत भ्रमण गर्न आएका थिए ।

दुई दिनभित्रै दुई विदेशी नागरिकको मृत्यु भएपछि त्यहाँ हंगामा मच्चिएको थियो । प्रहरीले अनुसन्धान सुरु गर्ने बित्तिकै यो मामिला ओडिशा अपराध शाखालाई सुम्पिएको थियो। अहिले दुवैको मृत्युबारे अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

यी दुई रुसी नागरिकको मृत्युको अनुसन्धानका क्रममा मंगलबार ओडिशाको तटमा पुगेको जहाजको चेम्बरमा रुसी नागरिकको शव फेला परेको थियो । उनलाई जहाजका प्रमुख इन्जिनियर ५१ वर्षीय सर्गेई मिल्याकोभको रूपमा पहिचान गरिएको थियो। जहाज बंगलादेशको चटगाउँबाट ओडिशाको पारादीप हुँदै मुम्बई गइरहेको थियो ।

पारादीप पोर्ट ट्रस्टका अध्यक्ष पीएल हरनाधले पनि यस मृत्युको बारेमा एक विज्ञप्ति जारी गरे। जहाजका प्रमुख इन्जिनियर सर्गेई मिल्याकोभको हृदयघातका कारण मृत्यु भएको उनले बताए ।

सीआईडीका एक अधिकारीले रुसी सांसद पावेलको मृत्युको अनुसन्धानमा सीआईडीले इन्टरपोलको सहयोग लिन सक्ने बताए । बिडनोभको मृत्युपछि अधिकारीहरूले सबैभन्दा पहिले होटलमा आएका सब इन्स्पेक्टर एसके सिंहलाई सोधपुछ गरेका थिए । यसबाहेक सीआईडीले तीन एम्बुलेन्स चालकलाई सोधपुछ गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले रायगढका प्रहरी उपरीक्षकसँग पनि मृत्युको रिपोर्ट मागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *