प्रधानमन्त्रीले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजाको राप्रपा सांसदहरुसँग ‘सिंगल-सिंगल’ भेट

डिसी नेपाल
२४ पुष २०७९ १०:४८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘सिंगल–सिंगल’ भेट गरेका छन्।

पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन्। पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको कुरा भने गोप्य राखिएको छ।

पूर्वराजाले दुई दिन लगाएर राप्रपाका केही सांसदहरुलाई चितवनमा र अन्य सांसदहरुलाई बाराको सिमरामा भेटेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपाको समेत समर्थनमा प्रधानमन्त्री नियुक्त भएकोले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

राप्रपा महामन्त्री धवलसमशेर राणाले सरकारमा सहभागिताबारे आफूहरुले पूर्व राजालाई जानकारी गराउन आफू र अध्यक्ष राजेन्द्र लिङ्देनले सिमरा पुगेर भेट गरेको बताए।

‘एक हप्ता अगाडि अध्यक्षज्यू र म सिमरा पुगेर सरकारमा सहभागिताका विषयमा महाराजधिराज (पूर्व राजा) लाई अपडेट गराएका हौं,’ राणाले डिसी नेपालसँग भने, ‘१४ जना सांसदले नै भेटेको भन्ने कुरा मलाइ जानकारी छैन।’ उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य केही नेताले पनि पूर्वराजासँग भेटेको  जनाए।

पूर्वराजाको राप्रपा अध्यक्षसहित सांसदहरुसँग छुट्टाछुट्टै भेट र यही बीचमा परिवर्तिन राजनैतिक कोर्सलाई हेर्दा नेपाली राजनीतिको दिशा प्रभावित हुन सक्ने र यसमा पूर्वराजाको प्रभाव रहन सक्ने समेत आंकलन गरिएको छ।

राप्रपाले विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डको यसअघि स्थापित छविमा समेत परिवर्तन देखिएको छ।

राप्रपासहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे। यसअघि प्रचण्ड सार्वजनिक रुपमा दौरा सुरुवाल लगाउँदैनथे। राप्रपाकै एजेण्डाअनुसार प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्ति मनाउने र त्यो दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।

अर्कोतर्फ राप्रपाले सुरुमा सरकारलाई समर्थन गर्ने निर्णय गरेको भए पनि सरकारमा सहभागी नहुने बताएको थियो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा समेत राप्रपा पहिले सकारात्मक थिएन।

तर, पूर्वराजा र राप्रपा अध्यक्ष लिङदेनको भेटपछि अचानक राप्रपा विश्वासको मत दिन तयार हुनुले प्रचण्डमाथि पूर्वराजाको केही प्रभाव रहेको र प्रचण्ड समेत राप्रपामार्फत पूर्वराजाका केही चाहनाहरुमा सकारात्मक रहेको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *